गजलकार रोदन हेटौंडामा सम्मानित
हेटौंडा-चर्चित युवा गजलकार प्रदीप रोदनलाई हेटौंडामा ‘मातृभूमि सम्मान–२०८२’ प्रदान गरिएको छ ।मातृभूमि साहित्य समाजले आयोजना गरेको ‘मातृभूमि साहित्य उत्सव–२०८३’ का अवसरमा गोरखाका गजलकार रोदनलाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’ प्रदान गरेको हो । साहित्य उत्सवमा मकवानपुरका साहित्यकार राजकुमार लामिछानेलाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, सुर्खेतका छन्दकवि बासुदेव पाण्डेय ‘प्रभाकर’ लाई ‘होमनाथ–बलदेवी छन्द साहित्य सम्मान–२०८२’ तथा हेटौंडाकी गजलकार स्वस्तिका बानियाँलाई ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ प्रदान गरिएको हो ।
उत्सवअन्तर्गत प्राज्ञिक विमर्शमा ‘साहित्यमा कृत्रिम बौद्धिकता’ विषयमा डा.घनश्याम घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमा डीबी बर्तौलाले टिप्पणी गरेका थिए । त्यसैगरी ‘साहित्यमा अध्यात्मदर्शन’ विषयमा समालोचक डा. ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गर्दा साहित्यकार अनिता कोइरालाले टिप्पणी गरेकी थिइन् । ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ विषयमा अन्तरसंवाद समेत आयोजना गरिएको थियो । बहसमा समालोचक चेतना शर्मा, समालोचक अनिता कोइराला र उपन्यासकार कल्पना खरेल सहभागी थिए भने साहित्यकार डा. निमेष निखिलले सहजीकरण गरेका थिए । मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार धनराज गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।








