हेटौंडामा एचआईभीसम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण
हेटौंडा- बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा एएचएफ नेपालको सहयोगमा सोमबार हेटौंडामा सञ्चारकर्मीहरूका लागि एचआईभीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मकवानपुरमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता थियो । कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभीसम्बन्धी मुख्य विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै जिम्मेवार र संवेदनशील समाचार सम्प्रेषणको आवश्यकता औंल्याए ।
उनले जनचेतना अभिवृद्धि र प्रभावकारी पैरवीका लागि तथ्यमा आधारित तथा नैतिक समाचार सम्प्रेषण आवश्यक रहेको बताए । उनले नेपालको वर्तमान एचआईभी अवस्था, प्राथमिकता र नियन्त्रणका प्रयासबारे सञ्चारमाध्यमको बुझाइ बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।यसैगरी, उहाँले संयोजकले संस्थाको पृष्ठभूमिबारे जानकारी दिँदै एएचएफ विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदान गर्ने संस्था भएको बताए । उनका अनुसार संस्थाले हाल ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको छ ।
नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमार्फत् राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सुरु गरेको उनले जानकारी दिए । ‘आर्थिक क्षमता नभएका व्यक्तिलाई समेत आधुनिक उपचार र सहयोग’ भन्ने उद्देश्यसहित संस्थाले एचआईभी संक्रमित व्यक्तिहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक सन्जु रोईले प्रदेशको एचआईभी अवस्थाबारे तथ्याड्ढ प्रस्तुत गरे । कार्यक्रममा पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने क्रम जारी रहेपनि अघिल्ला वर्षहरूको तुलनामा संक्रमण दर घट्दो क्रममा रहेको जानकारी दिइएको थियो ।







