‘रोप रेस्क्यू अनुशिक्षण तालिम’ को प्रदर्शन
हेटौंडा- सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको सहयोगमा सञ्चालित ९ दिने ‘रोप रेस्क्यू अनुशिक्षण तालिम’ को डेमोन्स्ट्रेशन सम्पन्न भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीमा वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन भएको उक्त तालिमको समापन आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री शिवराज अधिकारीले सशस्त्र प्रहरी बल विपद् उद्दार कार्यमा अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा हुने जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
उनले यस्ता तालिमहरूले सुरक्षाकर्मीहरूको पेशागत ज्ञान र क्षमता अभिवृद्धि गर्ने भएकाले मन्त्रालयको तर्फबाट भविष्यमा पनि आवश्यक उपकरण तथा क्षमता विकास कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक सञ्जय यादव, मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नविनकुमार खड्का, सशस्त्र प्रहरी सुरक्षा बेस कारागार कार्यालय भीमफेदीका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंह तथा क्युवेक ब्याट्री नं. ३ राजदल गणका सह–सेनानी अर्जुन परियारलगायतको उपस्थिति थियो ।







