बढ्दैछ रानी सामुदायिक वनमा सालक
हेटौंडा-किसानको साथीको रुपमा रहेको सालकलाई हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वनले आफ्नै सन्तानको रुपमा संरक्षण गर्दै आएको छ ।जेठ १० गते रातको ८ बजेको समयमा स्थानीय सुरज फुयाँलले बाटोमा हिंडिरहेको समयमा फेला पारी समूहका वन हेरालु हरिचन्द्र सापकोटालाई बुझाएका थिए । करिव ३ केजी वजन भएको सालकलाई जेठ ११ गते हेटौंडा उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, समूहकी सचिव अमुना सापकोटा, सदस्य पूर्णभद्र चौलागाई, लेखा संयोजक राजकुमार फुयाँल, उपभोक्ता र कर्मचारीको रोहवरमा समूहद्वारा निर्माण गरिएको सालक केजमा छाडिएको छ ।
अत्यन्त लज्जालु स्वभावको सालक रातको समयमा सक्रिय हुने गर्छ । धमिरा र कमिला खाएर आफ्नो जीवनयापन गर्ने सालकको लागि समूहले ज·लमा रहेको धमिराको देवल संरक्षण गर्दै आएको समूहका अध्यक्ष केशव धितालले बताए ।यसअघि समूहले वैशाख २ गते भेटिएको बयस्क र बच्चा सालकलाई समेत उद्वार गरि सालकको बासस्थानमा छाडिएको थियो । समूहका अनुसार समूहद्वारा संरक्षित सामुदायिक वनमा करिव ५ दर्जन सालक रहेको छ ।
सालकको संरक्षणको लागि समूहले जनचेतनामूलक कार्यक्रम, विधालयस्तरीय कार्यक्रम, सालकको बासस्थान संरक्षण, कानूनी ब्यवस्था, होडिङ बोर्ड स्थापना, सालककोमूर्ति निर्माणलगायतका काम गर्दै आएको छ ।जिल्लाभित्र र जिल्ला बाहिर भेटिएका सालकलाई रानी सामुदायिक वनमा बुझाउने गरिएको छ । समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने ब्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ ।







