६ विधामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता हुने

साझाकुरा
२०८३ जेष्ठ १२, मंगलवार ११:१७

हेटौँडा- बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा १६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म काठमाडौं र ललितपुरमा सञ्चालन हुने भएको छ ।आयोजक परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूको यस प्रतियोगितामा सहभागिता जनाउने छन् । विद्यालय तहका खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, भलिबल, कबयी र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ । सबै खेल अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गरिने र निष्पक्षताका लागि अनुभवी निर्णायक तथा प्राविधिक समिति परिचालन गरिने परिषद्को भनाइ छ ।

खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकका लागि आवास, खानपान, यातायात र स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ । प्रतियोगिता स्थलमा आपतकालीन स्वास्थ्य सेवा र प्राथमिक उपचार टोलीसमेत तयारी अवस्थामा रहने बताइएको छ ।गत १५ औँ संस्करणमा बागमती प्रदेशले ३६ स्वर्ण, ११ रजत र ७ कांस्य पदकसहित समग्रमा प्रथम स्थान हासिल गरेको थियो । उक्त सफलताले यस संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन प्रेरणा मिलेको परिषद्को भनाइ छ ।प्रतियोगिताको उद्घाटन समारोह जेठ १३ गते दिउँसो १ बजे काठमाडौंस्थित दशरथ रंगशालामा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*