बुद्धिचाल महासंघको विशेष साधारणसभा : अविश्वासको प्रस्ताव अस्वीकृत
हेटौंडा- नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष र महासचिवविरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसम्मत अस्वीकृत गरेको छ ।नेपाल बुद्धिचाल महासंघको कार्यसमितिले जेठ १० गते बोलाएको विशेष साधारणसभामा ५१ प्रतिशत गणपुरक संख्या उपस्थित नभएपछि विधानअन्तर्गत् दोस्रो पटक आह्वान गरिएको थियो । विशेष साधारणसभाको उद्घाटनसत्रमा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघका प्रतिनिधि दिलजीत खन्नाको उपस्थिति थियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ को (घ) मा व्यवस्था भएबमोजिम एक दिनको फरक गरि ११ गतेका लागि पुनः विशेष साधारणसभा आह्वान गरिएको थियो ।
नेपाल सरकार खेलकुद विकास ऐन, २०७७ बमोजिम गठित नेपाल बुद्धिचाल महासंघको विधान २०४८, राखेपबाट मिति २०८१ मा स्वीकृत आठौँ संशोधन २०८० अनुसार सोमबार ३३ प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थितमा विशेष साधारणसभा सम्पन्न गरेको हो ।हेटौँडामा उपाध्यक्ष माधवप्रसाद प्रधानको अध्यक्षतामा सञ्चालन भएको साधारणसभामा प्रतिनिधि एवम् फिडे रुल्स कमिसनका काउन्सिलर उमेश केसीले प्रस्तुत गरेको सुझाव एवम् पुरक प्रस्तावलाई महासंघले दस्तावेजीकरण गर्ने निर्णय पनि गरेको छ । अविश्वासको प्रस्ताव बिरुद्ध अध्यक्ष र महासचिवले प्रतिरक्षा गर्दै महासंघलाई थप गति प्रदान गर्न योजनासहितको खाका प्रस्तुत गरेका थिए । विशेष साधारणसभाका प्रतिनिधिहरुको जिज्ञासामा विचारविमर्श गरि विभिन्न निर्णय पनि गरिएको छ । विशेष साधारणसभाले विधान विपरित महासंघको गरिमा माथि आँच आउने भ्रामक कार्य नगर्न नगराउन सचेत गराउने निर्णय पनि गरेको छ ।








