दुई तिहाईनजिक सरकारको पहिलो बजेट आज सार्वजनिक हुँदै

साझाकुरा
२०८३ जेष्ठ १५, शुक्रबार १२:४६

हेटौँडा-दुई तिहाइनजिक जनमतसहित गठित सरकारले पहिलोपटक आज शुक्रबार आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट सार्वजनिक गर्दैछ ।रास्वपाको वाचापत्रलाई टेकेर धमाधम बजेट लेखनको कामलाई अघि बढाएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्लाई उपस्थित भइसक्न सूचित गरिसकेका छन् । नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।

चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो । यसपटक भने केही महत्वाकांक्षी कार्यक्रम राखेर अर्थमन्त्री वाग्लेले चालु बजेट भन्दा २–३ खर्ब बढिको बजेट ल्याउन लाग्नुभएको हो । बजेट निर्माणमा संलग्न अधिकारीहरुले दिएको जानकारी अनुसार बजेटमा खासगरी सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ । रास्वपाले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्यसहित वार्षिक ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने, ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको बनाउने तथा ३० अर्ब डलर बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्य वाचा गरिसकेकाले सोही वाचालाई पूरा गर्ने हिसाबले बजेटमा कार्यक्रम राखिँदैछ ।

बजेटमा स्रोतको चर्को चापका कारण यसवर्ष सामाजिक सुरक्षा भत्ता बढाउने तयारीमा सरकारी अधिकारीहरुले गृहकार्य गरेका छैनन् भने लामो समयदेखि बढ्न नसेकेको निजामती कर्मचारीको पारिश्रमिक बढाउने अन्तिम गृहकार्य अर्थ मन्त्रालयले गरेको छ ।अर्थमन्त्री वाग्लेले ल्याउन लागेको बजेटमा राज्य संयन्त्रको दलीयकरण अन्त्य गर्ने, सबै सरकारी सेवा ‘लाइन होइन, अनलाइन’ प्रणालीमार्फत् उपलब्ध गराउनेजस्ता विषयहरु समेटिँदैछ भने भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालयताका सम्पत्ति छानबिन गर्न बनेको उच्चस्तरीय आयोगलाई बजेटमार्फत् ठूलो स्रोत उपलब्ध गराउनेसमेत तयारी गरिएको छ ।

त्यस्तै, रास्वपा सरकारले ल्याउन लागेको पहिलो बजेटले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने, शिक्षा प्रणालीलाई व्यावहारिक र रोजगारमुखी बनाउने तथा निजी क्षेत्रसँग सहकार्य गरेर लगानी र रोजगारी बिस्तार गर्ने योजनालाई प्राथमिकतामा राख्ने देखिएको छ भने कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गर्ने बजेट लेखनमा सहभागी अधिकारीहरुले बताएका छन् । रास्वपाको वाचापत्रमा न्याय प्रणाली सुधार, मेरिटोक्रेसीको अभ्यास, सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहितालाई विशेष जोड दिइसकेकाले त्यसैको परिधिमै रहेर बजेट आउने सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए ।उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले बिस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो बृद्धि दरलाई सकारात्मक मानिएको छ । मुलुकको अर्थतन्त्रको कूल आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय एक हजार पाँचसय ३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको बृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहेपनि अन्य प्रदेशको बृद्धिदर भने औसत भन्दा न्यून रहने देखिएको छ ।

अर्थमन्त्रीले संसद्मा पेश गरेको सर्वेक्षणअनुसार कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायम छ, जसले कूल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पु¥याएको छ । यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले संकुचन आई ५७ लाख पाँच हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्ममा संघीय राजश्व ३.२ प्रतिशतले बृद्धि भएको जानकारी दिए । उनका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढेपनि पूँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन । सरकारको कूल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कूल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । यसैवर्ष सरकारले ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ ।

वाग्लेले सर्वेक्षण पेश गर्दै देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताउनुभएको छ । उहाँका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानिमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत् हुने कारोबार १ खर्ब २५ अर्ब नाघेको छ । मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ ।मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ । मानव विकास सूचकांक ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्षमुनिका बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वोक्षणमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*