बृहत् शैक्षिक महोत्सव–२०८३ सम्पन्न

साझाकुरा
२०८३ जेष्ठ १५, शुक्रबार १३:०३

हेटौँडा-हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा आयोजित ‘बृहत् शैक्षिक महोत्सव–२०८३’ विहीबार सम्पन्न भएको छ ।‘प्रविधिमैत्री गुणस्तरीय शिक्षाका लागि लगानी अभिवृद्धि गरौँ’ भन्ने मूल उद्देश्यसहित आयोजित महोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।महोत्सवमा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका ३६ भन्दा बढी विद्यालयको सहभागिता थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । महोत्सवअन्तर्गत् विज्ञान प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।

नगरस्तरीय विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा आधुनिक राष्ट्रिय मावि प्रथम भएको छ । प्रथम स्थान हासिल गर्दै आधुनिकले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, प्रदर्शनी प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी स्कूल द्वितीय हुँदै २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा नवोदय शिशु सदन तृतीय हुँदै १० हजार र जनज्योति मावि सान्त्वना हुँदै ५ हजार रुपैयाँ प्राप्त गरेको छ । विज्ञान सामग्री प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानको सिद्धान्त तथा सामग्रीहरु प्रयोग गरी वातावरण सुरक्षा, उद्योग तथा विभिन्न परियोजना गर्न सकिने उदाहरणहरु प्रस्तुत गरेका थिए ।

यस्तै, चित्रकला प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतनकी आरोही राई प्रथम भइन् । राईले २० हजार रुपैयाँ प्राप्त गरिन् । भुटनदेवी माविका बसन्त साह द्वितीयहुँदै १५ हजार रुपैयाँ प्राप्त गरे । बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका सुमित साह तृतीय हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । चित्रकलामा सान्त्वना हुँदै सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीका एन्जल तामाङले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । २० वर्षपछिको हेटौंडा कस्तो हुनेछ भन्ने परिवेशमा अनुमान गर्दै विद्यार्थीहरुले चित्र बनाएका थिए ।

नृत्य प्रतियोगितामा ब्रह्मदिक एकेडेमी प्रथम, सोलिड्यारीटी इन्टरनेसनल एकेडेमी द्वितीय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल तृतीय, सत्यम् जेभियर्स स्कूल सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २०, १५, १० र ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । नृत्य प्रतियोगितामा विद्यार्थीले नेपाली संस्कृति तथा पहिरन झल्कने नृत्य तथा विभिन्न जनजातिको नृत्य प्रस्तुत गरेका थिए ।

विज्ञान प्रदर्शनी कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, नृत्य प्रतियोगिता हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा र समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गरेका थिए । महोत्सवमार्फत् विद्यालयस्तरमा रहेका प्रतिभा, सिर्जनशीलता तथा वैज्ञानिक सोचको विकासमा टेवा पुगेको ४ नं. वडा अध्यक्ष नविन सिग्देलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*