स्वास्थ्यसेवा नागरिकको आधारभूत अधिकार हो : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न नागरिकको क्यान्सरउपचार निःशुल्क गर्ने तथा नेपाल चिकित्सक संघको भवन निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने घोषणा गरेका छन् ।चितवनको भरतपुरमा आयोजित नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ राष्ट्रिय चिकित्सा सम्मेलन तथा ५ औँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन–२०२६ मा मुख्यमन्त्री बानियाँले नेपालमा प्रजातन्त्र स्थापनासँगै संगठित भएको चिकित्सक संघले स्वास्थ्यक्षेत्रको विकास, चिकित्सकको हकहित संरक्षण तथा स्वास्थ्यसम्बन्धी नीति–नियम परिमार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले चिकित्सकहरु दिनरात नभनीबिरामीको सेवामा खटिने भएकाले उनीहरुको योगदानको उच्च सम्मान हुनुपर्ने उल्लेख गरे ।
उनले पछिल्लो समय स्वास्थ्य संस्थामा हुने तोडफोड, चिकित्सकमाथि हुने दुव्र्यवहार तथा अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै चिकित्सकलाई सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको बताए । ‘चिकित्सकले मानवजीवन बचाउने काम गरिरहेका छन्, केही घटनाका आधारमा सम्पूर्ण चिकित्सक समुदायलाई दोष दिनु उचित हुँदैन,’ उनले भने । मुख्यमन्त्री बानियाँले तीन तहको सरकार गठनपछि स्वास्थ्यक्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै बागमती प्रदेश सरकारले अस्पतालहरुको स्तरोन्नति, शैया विस्तार तथा आधुनिक स्वास्थ्य सेवाको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रदेशका अस्पतालमा विशेषज्ञ सेवाविस्तार, अत्याधुनिक उपकरण जडान तथा पूर्वाधार विकासको काम भइरहेको उनले बताए । कार्यक्रममा उनले चिकित्सक संघका लागि भवन निर्माणकोविषयमा पनि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गरे ।चिकित्सक संघले भवन निर्माणका लागि जग्गा प्राप्त गरिसकेको अवस्थामा प्रदेश सरकारले आगामी बजेटमार्फत् भवन निर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री बानियाँले क्यान्सर रोगीको उपचारलाई प्रदेश सरकारको विशेष प्राथमिकतामा राखिएको बताउँदै चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत स्वास्थ्य संस्थामार्फत् नागरिकलाई थप राहत दिने योजना रहेको जानकारी दिए ।
केन्द्र सरकारले उपलब्ध गराउँदै आएको उपचार सहायतामा प्रदेश सरकारले थप सहयोग गर्दै बिरामीलाई दुई लाख रुपैयाँसम्मको सहायता उपलब्ध गराउने तयारी गरेको उनले बताए । उनले आर्थिकरुपमा कमजोर तथा विपन्न नागरिकलाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै स्थानीय तहबाट विपन्न भएको सिफारिस प्राप्त गरेका क्यान्सररोगीको सम्पूर्ण उपचारखर्च प्रदेश सरकारले व्यहोर्ने गरी कार्यविधि तयार गरिने बताए । ‘आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘आवश्यकता अनुसार बजेट छुट्याएर विपन्न नागरिकको उपचार सुनिश्चित गर्नेछौँ ।’
मुख्यमन्त्री बानियाँले चिकित्सकहरु कुनै एक तहको सरकारका नभई सम्पूर्ण नेपाली जनताको सेवामा समर्पित रहेको उल्लेख गर्दै राजनीति भन्दा माथि उठेर सेवाभावका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे । स्वास्थ्यसेवा थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सरकार र चिकित्सक समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइने उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले स्वास्थ्यसेवा नागरिकको आधारभूत अधिकार भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्यसेवा सबै नागरिकसम्म पु¥याउन सरकार, चिकित्सक र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।
गुणस्तरीय, सर्वसुलभ र प्रविधिमैत्री स्वास्थ्यसेवा आजको आवश्यकता भएको उनको भनाई छ । मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध समाज निर्माण सम्भव नहुने जिकिर गरे । उनले चिकित्सा शिक्षा, स्वास्थ्य पूर्वाधार विस्तार, विशेषज्ञ सेवा र स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकता दिएको जानकारी दिए । स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गर्दै उनले प्रभावकारी स्वास्थ्यसेवा प्रवाहका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । सम्मेलनमा देशभरका चिकित्सक, स्वास्थ्यविज्ञ, नीति निर्माता तथा सरोकारवालाको सहभागिता रहेको थियो । सम्मेलनमा नेपालको स्वास्थ्यक्षेत्रका चुनौती, अवसर र भावी रणनीतिबारे छलफल हुने जनाइएको छ ।







