‘भान्सा नै पहिलो औषधालय’

साझाकुरा
२०८३ जेष्ठ १८, सोमबार १३:१२

हेटौंडा-विश्व वातावरण दिवस २०८३ को अवसरमा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतनामुलक कार्यक्रम हेटौंडा–४ मा सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगरसमन्वय समिति, हेटौंडा उपमहानगरको समन्वयमा आयोजित कार्यक्रममा टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलको प्रमुखआतिथ्यता रहेको थियो ।

कार्यक्रममा ‘भान्सा नै औषधालय’ अभियानका प्रवद्र्धक राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्यसामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे प्रशिक्षण तथा सहजीकरण गरेका थिए । उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोगलाई नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली आवश्यक रहेको बताए ।

भान्सामा प्रयोग हुने बेसार, अदुवा, लसुन, तुलसी, मेथी लगायतका सामग्री औषधीय गुणले भरिपूर्ण रहेको उल्लेख गर्दै उनले ‘भान्सा नै पहिलो औषधालय’ भएको धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुखअतिथि वडाअध्यक्ष सिग्देलले स्वस्थ नागरिक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताए । उनले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्षरुपमा जोडिएको विषय भएको उल्लेख गर्दै स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवद्र्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिए । यस्ता कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सहभागी सबैलाई सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरेका छन् ।

कार्यक्रमका सभाध्यक्ष तथा टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष अधिकारीले विश्व वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको बताए । उनले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन र स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ‘स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,’ भन्दै उनले समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ सहित नगरभित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ताको सहभागिता रहेको थियो। सहभागीले कार्यक्रमबाट प्राप्त ज्ञान तथा अनुभवलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आयोजककाअनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवद्र्धनका विविध कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*