बागमती पुलबाट खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिए
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् ।मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी शनिबार बेलुका खसेको थियो । गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्ताैला स्टेरिङमै मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडीलाई क्रेनको सहायताबाट खोला बाहिर निकालिएको छ । मकवानपुरका प्रहरी नायवउपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।
गाडीमा चालक र सहचालक गरी दुईजना सवार थिए । सहचालक १७ वर्षीय प्रशन्न प्रजा हामफालेका थिए । उनी सकुशल रहेको र चालकको मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।







