हेटौंडा–१० मा कौसीखेती तथा उद्यमशीलता तालिम
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० को कार्यालय र तर· सांस्कृतिक परिषद्को सहकार्यमा सञ्चालन गरिएको कौसीखेती तथा उद्यमशीलता तालिम सम्पन्न भएको छ ।वडा नम्बर १० भित्रका विभिन्न टोल विकास संस्थाका ३१ जना महिला तथा पुरुष सहभागी रहेको तालिमको समापन कार्यक्रममा वडाअध्यक्ष फुर्वादोर्जे लामा प्रमुख अतिथिकारुपमा सहभागी थिए । समापन समारोहमा वडाअध्यक्ष लामाले जलवायु परिवर्तन, सहरी करणको बढ्दो दबाब, रोजगारीको चुनौती, घट्दो कृषिउत्पादन तथा विषादियुक्त खाद्यवस्तुको बढ्दो प्रयोगजस्ता समस्याको समाधानका लागि कौसीखेती प्रभावकारी विकल्प बन्न सक्ने बताए । उनले सहरी क्षेत्रमा उपलब्ध सीमित स्थानको अधिकतम उपयोग गर्दै ताजा तथा स्वस्थ्य खाद्य उत्पादन गर्न कौसीखेती महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका छन् ।
कार्यक्रमका सभाध्यक्ष एवम् परिषद्का कोषाध्यक्ष ईन्द्रप्रसाद नेपालले स्थानीय सरकारको सहयोगमा सञ्चालन गरिएको तालिम उपलब्धिमूलक रहेको बताएका छन् । सहभागीको स्वमूल्यांकनबाट समेत तालिम प्रभावकारी देखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको योजनामा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न वडा कार्यालयसँग आग्रह गरेका छन् ।
तालिम संयोजक प्रद्युम्न उपाध्यायले आधुनिक प्रविधिप्रति बढ्दो आकर्षणकाबीच परिवार, समाज र प्रकृतिबीचको सम्बन्धलाई मजबुत बनाउन कौसीखेती उपयोगी हुने बताएका छन् । उनले कौसीखेतीले वातावरणीय सचेतना, सामाजिक सहभागिता र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने धारणा राखे ।समापनका अवसरमा वडाअध्यक्ष लामा, वडासदस्य ईश्वर मैनाली तथा परिषद्का कोषाध्यक्ष नेपालले सहभागीलाई बीउ, मल र गमला वितरण गरेका थिए । उनीहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै वडामा कौसीखेतीलाई उदाहरणीय अभियानकारुपमा विकास गर्न आग्रह गरे । तालिमका सहजकर्ता राधा कोइरालाले सहभागीलाई कौसीखेतीका लागि उपयुक्त तरकारी तथा फलफूल, बीउ छनोट, मल व्यवस्थापन, मौसमीखेती, जैविक कीटनाशक निर्माण तथा ग्राफ्ट प्रविधिबारे व्यावहारिक जानकारी दिए ।
कार्यक्रममा सहभागीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिम पश्चात् कौसीखेतीको प्रगति वडा कार्यालय र परिषद्को संयुक्त अनुगमनमार्फत मूल्यांकन गरिने जानकारी दिइएको छ ।परिषद्का प्रतिनिधिले कौसीखेतीलाई उद्यमशीलतासँग जोड्नसके स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहभागी तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गरेका थिए ।







