२ हजार २ सय केजी अजैविक फोहोर संकलन
हेटौंडा-विश्व वातावरण दिवस–२०८३ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् आयोजित ‘फोहोर खोज चुनौती कार्यक्रम’ सम्पन्न भएको छ । हेटौंडा उपमहानगरको सहयोग, टोल विकास संस्था नगरसमन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडासमन्वय समिति, हेटौंडा–८ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा १९ वटा टोल विकास संस्थाका ३८ समूहको सहभागितारहेको थियो ।
सहभागीले आफ्नो क्षेत्रबाट अजैविक फोहोर २,२०० केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन् । टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ का वडासदस्य गोरख राय, नगरसमन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक सुशीला मल्ल, वडासमन्वय समितिका अध्यक्ष कुमार केसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानले नागरिकमा जिम्मेवारीबोध बढाउने तथा स्वच्छ समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । सभाध्यक्ष अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आजको आवश्यकता भएको बताउँदै ‘स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा’ निर्माणका लागि टोलस्तरबाट यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।
प्रतियोगिताको नतिजा अनुसार कालिका टोल विकास संस्था प्रथम, विकास टोल द्वितीय तथा मनकामना टोल तृतीय भएकाछन् । कालिका टोल, मनकामना टोल, बिन्दबासिनी टोल र सृजना टोलले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम हुने समूहलाई १० हजार रुपैयाँ द्वितीयलाई ७ हजार ५ सय रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ तथा सान्त्वनालाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पुरस्कार जेठ २२ गते आयोजित विशेष समारोहमा वितरण गरिने कार्यक्रम रहेको छ ।







