एकल, विपन्न तथा सीमान्तकृत महिलालाई बेसारको बीउ

साझाकुरा
२०८३ जेष्ठ १९, मंगलवार १२:२८

हेटौंडा- मानवअधिकारका लागि महिला, एकलमहिला समूहले एकल, विपन्न तथा सीमान्तकृत महिलाको आर्थिक सशक्तीकरणका लागि बेसारको बीउ वितरण गरेको छ ।हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाको वडा नम्बर ९ र ११ का १५ जना महिलालाई बेसारको बीउ हस्तान्तरण गरिएको समूहकी अध्यक्ष शारदा चौलागाईंले जानकारी दिइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाअध्यक्ष दाहालले महिलालाई आत्मनिर्भर बनाउन कृषिउत्पादनमा जोडदिन आवश्यक रहेको बताइन् । उनले बेसारखेतीले कम लगानीमा राम्रो आम्दानी दिनसक्ने भएकाले प्राप्त बीउको सदुपयोग गरी व्यावसायिक उत्पादनतर्फ अग्रसर हुन आग्रह गरिन् ।

दाहालले स्थानीय सरकारले महिला, एकलमहिला तथा सीमान्तकृत समुदायको आयआर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । समूहकी अध्यक्ष चौलागाईंले वितरणगरिएको बीउले लक्षित महिलालाई कृषिउत्पादनमार्फत् आयआर्जनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*