सडकका घाइते कुकुरको सहारा बन्दै हेटौंडाका युवा
हेटौंडा- सडकमा अलपत्र परेका, दुर्घटनामा घाइते भएका तथा विभिन्न रोगबाट पीडित सामुदायिक कुकुरको उद्दार, उपचार र संरक्षणमा हेटौंडाका नौ युवा सक्रियरुपमा जुटेका छन् ।व्यक्तिगत समय, श्रम र खर्च लगाएर उनीहरुले सडकमा कष्टकर जीवन बिताइरहेका कुकुरको उपचार तथा व्यवस्थापन गर्दै आएका छन् । ‘हेटौंडा एनिमल एण्ड डग वेलफेयर क्लब’ मार्फत हालसम्म तीन सयभन्दा बढी सामुदायिक कुकुरको उद्दार, उपचार तथा व्यवस्थापन गरिएको क्लबका अध्यक्ष सजल पौडेलले जानकारी दिएका छन् । नौ सदस्यीय टोलीमा पशुसम्बन्धी ज्ञान भएका सदस्य सहभागी छन् । क्लबले विशेषगरी सडक दुर्घटनामा परेका, सवारी साधनको ठक्करबाट घाइते भएका, छालासम्बन्धी रोगबाट ग्रसित तथा भोकमरी र अन्य समस्यामा परेका कुकुरको उद्दार गर्दै आएको छ ।
उपचारका लागि आवश्यक खर्च सदस्यहरुले आफैँ जुटाउने गरेका छन् भने सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरेर पनि उपचार गराइँदै आएको छ । उद्दार गरिएका घाइते तथा बिरामी कुकुरलाई उपचार अवधिभर सुरक्षित रुपमा राख्ने उपयुक्त स्थानको अभाव रहेको छ । आश्रयस्थल नहुँदा कहिले आफ्नै घरको आँगनमा, कहिले सार्वजनिक खाली भवनमा त कहिले खुलास्थानमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको क्लबका सदस्यहरु बताउँछन् । सडकमा भेटिने अधिकांश सामुदायिक कुकुर सवारी दुर्घटनाको सिकार हुने गरेको अध्यक्ष पौडेलको भनाइछ । सवारीसाधनले ठक्कर दिएपछि चालकहरु घटनास्थलबाट भाग्ने गरेका कारण धेरै कुकुर कैयौं दिनसम्म सडकमै छटपटाइरहेको अवस्थामा भेटिने गरेको उनले बताए ।
नेपालको प्रचलित कानुनले पशुपन्छीमाथि क्रूर व्यवहार गर्न नहुने व्यवस्था गरेपनि सम्बन्धित निकायबाट प्रभावकारी कार्यान्वयन हुन नसकेको क्लबका सदस्यहरुको भनाइ छ । कुकुरलाई कुटपिट गर्ने, घाइते बनाउने वा सवारी दुर्घटनापछि भाग्ने व्यक्तिमाथि कडा कानूनी कारबाहीको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । सामुदायिक कुकुरको संरक्षण, उपचार, खोप, बन्ध्याकरण र व्यवस्थापनका लागि राज्यका तीनै तहका सरकारले छुट्टै बजेट विनियोजन गर्न आवश्यक रहेको क्लबकी कोषाध्यक्ष आश्रिती सेढाईले बताइन् । सामुदायिक कुकुरको संरक्षणलाई केवल पशु कल्याणसँग मात्र नभई सार्वजनिक स्वास्थ्य, सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सुरक्षित सहरी व्यवस्थापनसँग समेत जोडेर हेर्नुपर्ने उनले बताइन् ।
सामुदायिक कुकुरको उद्दार तथा उपचारमा सक्रिय युवालाई सहयोग पुग्ने गरी हेटौंडा उपमहानगरपालिकाले प्रयोगविहीन अवस्थामा रहेको हेटौंडा–१ स्थित खसीबजार भवनलाई सामुदायिक कुकुरको आश्रयस्थल (सेल्टर)का रुपमा उपलब्ध गराउने तयारी गरेको छ । यो भवनमा आश्रयस्थल सञ्चालनमा आएपछि घाइते तथा बिरामी कुकुरको उपचार र व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । उपचारपछि आराम गर्नुपर्ने, नियमित औषधि सेवन गर्नुपर्ने तथा पूर्णरुपमा स्वस्थ भइनसकेका कुकुरलाई सुरक्षितरुपमा राख्न सकिनेछ ।







