६ खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबीन गर्न समिति गठन

साझाकुरा
२०८३ जेष्ठ २५, सोमबार ०९:२३

हेटौंडा- २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ खेलाडीले ज्यान गुमाएको विषयमा छानबीन गर्न समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबीन उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शार·िन निरौला, कानुन शाखाप्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत छन् । समितिले २१ दिनभित्र छानबीन सकेर प्रतिवेदन बुझाउने छ । समितिले भोलि (सोमबार)देखि २१ दिनभित्र छानबीनको प्रतिवेदन तयार पारेर राखेपलाई बुझाउनुपर्ने म्यान्डेट पाएको छ ।

२०८१ असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित बत्सलादेवी माविमा रहेको एन्फा सिस्नेरी एकेडेमीका ६ किशोर खेलाडीको निधन भएको थियो । एन्फाकै कमजोरीका कारण घटनामा आफ्ना बालकहरु गुमाएको भन्दै आफन्तले आरोप लगाउँदै आएका छन् । घटनामा एकेडेमीका किशोर खेलाडी आदित्य बलम्पाकी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमन योन्जनको निधन भएको थियो ।घटनाको छानबीनका लागि ज्यान गुमाएका खेलाडीका आफन्तले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबीनका लागि निर्देशन दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*