बागमतीमा २ लाख ८२ हजार व्यवसायको विवरण संकलन

साझाकुरा
२०८३ जेष्ठ २५, सोमबार १२:४६

हेटौंडा, २४ जेठ÷राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रोचरणको आर्थिकगणनाअन्तर्गत बागमती प्रदेशबाट सबैभन्दा बढी दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरेको छ ।करिब ११ लाख ७० हजार व्यावसायिक प्रतिष्ठानको विवरण गणना हुँदा कर्णाली प्रदेशबाट सबैभन्दा कम ५२ हजार प्रतिष्ठान समावेश भएका हुन् । यही जेठ २२ गतेसम्म कार्यालयले लिएको लक्ष्य अनुसार देशभर करिब ८० प्रतिशत कार्यप्रगति भएको आर्थिक गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले जानकारी दिए ।

कार्यालयले आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापारव्यवसाय गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आग्रह गरेको छ । कार्यालयले व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्यांक संकलन गरेको हो ।

संकलित विवरणका आधारमा सरकारलाई व्यावसायिक नीति, वाणिज्य नीति तथा आर्थिक विकासका तथ्यपरक योजना बनाउन सहज हुने जनाइएको छ । देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले गणना गरिएको हो । विसं २०७५ मा पहिलोपटक गणना सम्पन्न गरिँदा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान समावेश भएका थिए । यसपटक करिब १४ लाख प्रतिष्ठान सहभागी हुने अनुमान गरिएको छ ।

गणना गत वैशाख २ गतेदेखि आगामी असार ७ गतेसम्म जारी छ ।देशको आर्थिक विकासका लागि महत्वपूर्ण तथ्यांक प्रदान गर्ने अपेक्षा गरिएको कार्यक्रममा सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । गणनालाई बढी भरपर्दो र विश्वासिलो बनाउन वडामा समिति गठन गरिएको छ । सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापारव्यवसाय र सेवाक्षेत्रलाई समेट्न लागिएको गणनाका लागि तीन हजार ९०६ गणक तथा ५२६ सुपरीवेक्षक खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*