सत्य र न्यायलाई प्राथमिकता दिएर काम गर्न मुख्यमन्त्री बानियाँको आग्रह
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनप्रतिनिधिले राजनीतिक आस्था, व्यक्तिगत सम्बन्ध वा कुनैपनि प्रकारको प्रभावभन्दा माथि उठेर सत्य, न्याय र इमानदारितालाई प्राथमिकता दिँदै काम गर्नुपर्ने बताएका छन् ।बागमती प्रदेश सुशासन केन्द्र, जावलाखेल ललितपुरद्वारा आयोजित ‘स्थानीय तहका न्यायिक समितिका संयोजक (उपप्रमुख÷ उपाध्यक्ष) तथा सहजकर्ताका लागि स्थानीय तहका न्यायिक समितिबाट सम्पादित असल अभ्यास र फैसला लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले न्याय सम्पादनका क्रममा निष्पक्षता, कानुनी आधार र नैतिकताको उच्च महत्व रहेको बताए । उनले संविधानले स्थानीय तहका जनप्रतिनिधिलाई प्रदान गरेको अधिकार र जिम्मेवारीलाई आत्मसात गर्दै निडर, जिम्मेवार र जनउत्तरदायी ढंगले काम गर्न आग्रह गरे ।
स्थानीय तहमा उत्पन्न हुने विवाद तथा मुद्दालाई सकेसम्म संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले जग्गा, सीमाना तथा अन्य विषयसँग सम्बन्धित विवादमा दुवै पक्षको कुरा सुनेर निष्पक्ष समाधान खोज्नु जनप्रतिनिधिको मूल दायित्व भएको बताए । मुख्यमन्त्री बानियाँले संवाद र सहमतिबाट समस्या समाधान हुन नसकेपछि मात्र न्यायिक समितिले निर्णय दिनुपर्ने उल्लेख गरे । निर्णय गर्दा कुनैपनि पक्षप्रति पूर्वाग्रह नराखी न्यायपूर्ण र कानुनसम्मत ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले जिल्ला अदालत, उच्चअदालत तथा सर्वोच्च अदालतले स्थापित गरेका कानुनी सिद्दान्त र नजिरलाई आधार बनाएर फैसला गर्नुपर्नेमा जोड दिए ।
न्याय सम्पादनका क्रममा तथ्य, प्रमाण र कानुनलाई मुख्य आधार बनाउनुपर्ने बताउँदै उनले न्यायिक समितिका पदाधिकारीले आफ्नो इमानदारी, नैतिकता र जिम्मेवारीलाई सदैव केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे । न्यायको उद्देश्य कसैलाई अन्याय गर्नु नभई न्याय स्थापित गर्नु रहेको उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले जनप्रतिनिधिले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै नागरिकमा विश्वास र भरोसा कायम गर्दै छिटो, सहज तथा प्रभावकारी सेवाप्रवाह गर्नु प्रमुख दायित्व भएको बताए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई कानुनी ज्ञान, न्यायिक प्रक्रिया तथा निर्णय प्रक्रियासम्बन्धी जानकारी प्रदान गर्न योगदान पु¥याउने सम्बन्धित कार्यालय, प्रशिक्षक तथा सहयोगीलाई धन्यवाद दिँदै उनले यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमले न्यायिक समितिलाई थप सक्षम, प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले विशेषगरी कमजोर, निमुखा, पीडित तथा आवाजविहीन नागरिकले सहजरुपमा न्याय पाउने वातावरण निर्माण गर्नु जनप्रतिनिधिको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सत्य, न्याय र इमानदारिताको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरे ।मुख्यमन्त्री बानियाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवले आगामी दिनमा न्यायिक जिम्मेवारी निर्वाह गर्न थप सहजता र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गर्दै सहभागीको सफल कार्यकाल तथा न्यायपूर्ण सेवाका लागि शुभकामना व्यक्त गरे ।







