रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन ११ जिल्लामा ब्लड बैंक रेफ्रिजेरेटर
हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यसहित ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रम मार्फत प्रदेश सरकारले रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापा मगरले संयुक्त रूपमा ११ वटा रेडक्रस जिल्ला शाखालाई आधुनिक प्रविधियुक्त ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । रक्तसञ्चार सेवा सञ्चालन भइरहेका सिन्धुपाल्चोक र रसुवा बाहेकका जिल्लामा उक्त उपकरण उपलब्ध गराइएको हो ।
प्रदेश सरकारले निःशुल्क रक्तसञ्चार सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षमा रेफ्रिजेरेटर खरिदका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रमअन्तर्गत सार्वजनिक खरिद प्रक्रियामार्फत प्रति युनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँ बराबरका ११ वटा रेफ्रिजेरेटर खरिद गरी वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर सहयोग मानव जीवनको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन् । उनले द्वन्द्वकालदेखि प्राकृतिक विपद्, महामारी तथा विभिन्न मानवीय संकटका समयमा रेडक्रसले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रदेश सरकारले आगामी दिनमा पनि यस्ता सेवामूलक संस्थासँग सहकार्यलाई निरन्तरता दिनेधारणा राखेका छन् ।
मुख्यमन्त्री बानियाँले रगतको संकलन, परीक्षण, भण्डारण तथा वितरण प्रक्रिया अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण कार्य भएको उल्लेख गर्दै यसको व्यवस्थापनमा कुनै पनि प्रकारको लापरबाही हुन नहुने बताए । रगतको अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था अन्त्य गर्न प्रदेश सरकार विभिन्न योजनासहित अघि बढिरहेको उनको भनाइ थियो । साथै ब्लड म्याचिङ प्रक्रियालाई थप आधुनिक र व्यवस्थित बनाउन आगामी आर्थिक वर्षको बजेटमार्फत आवश्यक कार्यक्रम समावेश गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले रगत भण्डारणका क्रममा विद्युत आपूर्तिको निरन्तरता अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै विद्युत अवरुद्ध भएका बेला वैकल्पिक प्रणाली समयमै सञ्चालन नभए ठूलो परिमाणमा रगत नष्ट हुन सक्ने र त्यसले बिरामीको जीवन नै जोखिममा पार्न सक्ने बताए । रक्तसञ्चार सेवामा संलग्न निकायले उच्च सतर्कता अपनाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री मगरले प्रदेश सरकारले नागरिकलाई निःशुल्क र सुरक्षित रक्तसञ्चार सेवा उपलब्ध गराउने नीति अनुसार आवश्यक पूर्वाधारमा लगानी बढाउँदै लगेको बताए । उनले रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूले प्रदेशका अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उल्लेखनीय योगदान पु¥याएको बताए ।
मन्त्री थापाका अनुसार ब्लड बैंकमार्फत उपलब्ध गराइने रगतको सेवा शुल्क प्रदेश सरकारले व्यहोर्दै आएकाले आर्थिक अवस्था कमजोर भएका नागरिकसमेत सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्षम भएका छन् । उनले स्वास्थ्य मन्त्रालय र रेडक्रसबीचको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।हस्तान्तरण गरिएका रेफ्रिजेरेटरहरू २२० लिटर क्षमताका छन् प्रत्येक रेफ्रिजेरेटरमा करिब १५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिने क्षमता रहेको छ ।उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट, डिजिटल तापक्रम नियन्त्रण प्रणाली तथा डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएका छन् । यस्ता सुविधाले रगतको गुणस्तर कायम राख्न तथा आवश्यक तापक्रमको निरन्तर निगरानी गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक नरेन्द्रकुमार झा, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला थापा तथा ११ जिल्लाकारेडक्रस शाखाका सभापति एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रदेश सरकारले उपलब्ध गराएको उपकरणले जिल्लास्तरमा रक्तसञ्चार सेवाको पहुँच विस्तार गर्न तथा सुरक्षित रगत भण्डारण क्षमता बढाउनठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।







