फास्ट ट्रयाकको पिकअप दुर्घटनामा इन्जिनियरसहित दुईजनाको मृत्यु
हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिकामा बुधबार राति पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी र गाडीमा सवार काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनामा कार्यरत बारा जिल्लाको पचरौता नगरपालिका–७ का २१ वर्षीय इन्जिनियर सूर्य यादवको मृत्यु भएको हो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पिकअप चालक बुढाथोकी नेपाली सेनाका भूतपूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ । बुधबार राति करिब ११ बजे भीमफेदीस्थित माण्डु जलविद्युत् आयोजनाबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्दा पिकअप गाडी भीमफेदी–८, बैदमारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको पिकअप गाडी सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको थियो । मृतकहरुको शव बिहीबार बिहान हेटौंंडा अस्पताल ल्याइएको थियो ।







