स्रष्टा सम्मानसँगै साहित्यिक विमर्श र सांस्कृतिक परिचर्चा
हेटौंडा- साहित्य, कला र सिर्जनाका क्षेत्रमा योगदान पु¥याउने पाँचजना स्रष्टालाई सम्मान गर्दै मातृभूमि साहित्य समाजले विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० को सहकार्यमा हेटौंडास्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा साहित्यकार, कलाकार तथा स्रष्टालाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा ‘ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८२’ बाट साहित्यकार शशी पन्थीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
त्यसैगरी ‘मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०८२’ साहित्यकारगिरिराज आचार्यलाई प्रदान गरिएको थियो । ‘शेखर शर्मा रिजाल स्मृति मातृभूमि सम्मान–२०८२’ अन्तर्गत कलासाधक माधव सिलवाललाई १५ हजार रुपैयाँ, गजलकार स्वस्तिका दाहाललाई ७ हजार ५ सय रुपैयाँ तथा मुक्तककार सुमि थिङलाई ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
वरिष्ठ समालोचक डा. ज्ञानु अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मान वितरणसँगै ‘शिक्षालयमा सांस्कृतिक सन्देश’ विषयक परिचर्चा, निबन्धको सैद्धान्तिक पक्षमाथि छलफल तथा निबन्धकृति ‘तुइन जिन्दगी’ माथि विमर्श गरिएको थियो । कार्यक्रममा डा. अधिकारीले निबन्ध साहित्यको स्वरुप, विकासक्रम र सैद्धान्तिक पक्षबारे धारणा राखेकी थिइन् । लेखक डा. रेणुका सोलुद्वारा लिखित ‘तुइन जिन्दगी’ कृतिमाथि साहित्यकार प्रभा बरालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरिन् । सो अवसरमा डा. सोलुले आफ्नो जीवनका संघर्ष र अनुभवसमेत सहभागीलाई सुनाइन् ।
‘शिक्षालयमा सांस्कृतिक सन्देश’ विषयक परिचर्चामा बागमती प्रदेशकी मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेत, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती र प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले शिक्षामा संस्कृति र नैतिक मूल्यको महत्वबारे विचार व्यक्त गरे । परिचर्चाको सहजीकरण पूर्वप्रधानाध्यापक रमेश लामिछानेले गरेका थिए । मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले कविता, गजल तथा अन्य साहित्यिक रचनावाचन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्य, कला, शिक्षा तथा सामाजिक क्षेत्रसँग सम्बन्धित स्रष्टा, बुद्धिजीवी, सञ्चारकर्मी र साहित्यप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो ।







