‘तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३’ असार ३ देखि

साझाकुरा
२०८३ जेष्ठ ३१, आईतवार १३:०५

हेटौंडा-‘तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३’ आगामी असार ३ गतेदेखि सुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता असार ३ देखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ ।यसअघि जेठ २४ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भएपनि आवश्यक आन्तरिक तयारीका कारण मिति परिवर्तन गरिएको थियो । परिषद्को २४ औँ बोर्ड बैठकले जेठ महिनामै प्रतियोगिता गर्ने निर्णय गरेपनि व्यवस्थापन तथा प्राविधिक तयारीलाई थप व्यवस्थित बनाउन प्रतियोगिता केही समय पछाडि सारिएको हो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ । परिषद्ले प्रतियोगिताको विस्तृत खेलतालिका तथा विभिन्न खेलका प्राविधिक संयोजकको नामावली समेत सार्वजनिक गरिसकेको छ ।प्रतियोगिताको औपचारिक उद्घाटन असार ३ गते हेटौंडामा हुनेछ भने समापन समारोह असार ९ गते आयोजना गरिनेछ । यद्यपि एथलेटिक्सतर्फका प्रतिस्पर्धा भने असार १ गतेदेखि नै हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, जुडो तथा टेबल टेनिस गरी १५ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका खेलाडीले सहभागिता जनाउने छन् ।

परिषद्काअनुसार प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी तथा १ हजार २ सय ६ जना अफिसियल सहभागी हुनेछन् । यसरी कुल ४ हजार १ सय ६१ जनाको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ । अधिकांश खेल प्रतियोगिता हेटौंडामा सञ्चालन गरिनेछ । पुरुष तथा महिला फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल तथा टेबल टेनिसका खेल हेटौंडाका विभिन्न खेलस्थलमा आयोजना गरिनेछन् । महिला क्रिकेट तथा कराँतेका प्रतिस्पर्धा चितवनमा हुनेछन् भने भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौं र ललितपुरका विभिन्न खेलमैदान तथा कभर्ड हलमा सञ्चालन गरिनेछन् ।

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न खेलका अनुभवी प्राविधिक तथा खेलविज्ञलाई संयोजकको जिम्मेवारी दिइएको छ । क्रिकेटमा अनिल अधिकारी, भलिबलमा सुनिता गौतम, कराँतेमा रवि महर्जन, फुटबलमा अमृत लुङ्वा तथा एथलेटिक्समा शुक्र माझीलाई प्राविधिक नेतृत्वको जिम्मेवारी तोकिएको छ । खेलगत सहभागिताको तथ्यांकअनुसार एथलेटिक्समा सबैभन्दा बढी ४ सय ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि बागमती प्रदेश सरकारले १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

फुटबलमा ३ सय ६०, भलिबलमा ३ सय १२, तेक्वान्दोमा २ सय ६२, क्रिकेटमा २ सय २४, कराँतेमा २ सय १८, आइटिएफ तेक्वान्दोमा २ सय १८, बक्सिङमा १ सय ७०, उसुमा १ सय ५९, जुडोमा १ सय ३८, फुल कन्ट्याक्ट कराँतेमा १ सय ३०, ब्याडमिन्टनमा ७८, बुद्धिचालमा ७८, टेबल टेनिसमा ७८ तथा पौडीमा ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*