हेटौंडाको दृश्यावलोकन र हाइकिङले रोजाइमा मक्रान्चुली

साझाकुरा
२०८३ जेष्ठ ३१, आईतवार १२:२४

हेटौंडा- हेटौंडाको व्यस्त बजारबाट करिब पाँच–छ किलोमिटर उत्तरपूर्वमा अवस्थित मनकामना मन्दिर र आसपासको रमणीय परिवेशले यहाँ आउने जोकोहीलाई लोभ्याउने गरेको छ । हेटौंडाको चर्को गर्मी छल्दै छोटो दूरीमा चिसो हावा खाँदै एकसाथ हेटौंडाको दृश्यावलोकनसँगैमनकामनादेवीको दर्शनका लागि यहाँ मानिसको भीड लाग्ने गरेको छ । धार्मिक महत्वको मनकामना मन्दिर, जाने मार्गको मुख्यचोकमा बनाइएको ठेकी पार्क, केहीपर रहेको मकवानपुरगढी, यहाँबाट देखिने हेटौैंडा बजारको रमणीय दृश्य आदिका कारण पनि यस क्षेत्रकै महिमा र गरिमा बढाएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ मा पर्ने मनकामना मन्दिर र आसपासको क्षेत्र आफैँमा सुन्दर हरियालीयुक्त डाँडामा रहेको र यहाँबाट एकसाथ देखिने हेटौंडा बजार र आसपासका पहाडी भूदृश्यले स्वदेशी, विदेशी पर्यटकलाई लोभ्याउने गरेको स्थानीयवासी पूर्वसैनिक ‘हाइजेनिक’ हाइटका सञ्चालक पदमनाथ सापकोटाले बताए ।‘हेटौंडाबाट बिहान र बेलुकाको समयमा यहाँ ‘हाइकिङ’ गर्दै आउनेको संख्या दिनानुदिन बढिरहेको छ’, उनले भने, ‘यसक्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उनीहरुको सुविधालाई लक्षित गरी हामीले विगत सात वर्षयता भूपू सैनिक हाइजेनिक हाइट सञ्चालन गरेका छौँ ।’

आफ्नो भूपू सैनिक ‘हाइजेनिक हाइट’मा पर्यटकको इच्छाअनुसार खाना तथा खाजा खुवाउने गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा यसक्षेत्रमा पर्यटकलाई लक्षित गरी होटेल तथा रेष्टुरेन्ट थप्नेक्रम बढिरहेको छ । विशेष गरी बिदाको समयमा ठूलै संख्यामा आन्तरिक पर्यटक यसक्षेत्रमा आउने गरेका छन् । अर्का स्थानीयवासी गोपीकृष्ण सापकोटाकाअनुसार यहाँस्थित मनकामना मन्दिरमा गोरखाको मनकामना मन्दिरमा जस्तै श्रद्धाभक्तिपूर्वका पूजाआजा गर्ने गरिन्छ ।

गोरखा मनकामनाको बहिनीकारुपमा लिइने यस मन्दिरको स्वरुप गोरखाकै मनकामना मन्दिरसँग मिल्दोजुल्दो रहेको उनले बताए । यो मन्दिर २०१६ मा स्थापनागरेको पाइन्छ । सुरुमा काठको मन्दिर रहेकामा २०३७–३८ सालतिर यहाँका गाउँलेले नजिकैको मक्रान्चुली गएर इँटा बोकर ल्याई निर्माण गरिएको उनले जानकारी दिए । मनले चिताएको पुग्ने विश्वासका साथ हेटौंडा र आसपासका क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेको सापकोटाले जानकारी दिए । यो क्षेत्र ऐतिहासिक मकवानपुरगढी (जुन सेन राजाको दरबार र ऐतिहासिक किल्ला हो)सँगै जोडिएको हुनाले यसको ऐतिहासिक महत्व रहेको छ । सेनकालीन समयदेखि नै मनकामना मन्दिरलाई महत्वपूर्ण शक्तिपीठको रुपमा पूजाआजा गरिँदै आएको छ ।

सहरको कोलाहल एवं व्यस्त जीवनकाबीच थोरै समय मिलाएर शारीरिक र मानसिक शान्तिका लागि आउन सकिने शान्त र शीतल गन्तव्यकारुपमा यसले पहिचान बढाएको छ । पछिल्ला समयमा वनभोजसँगै छोटो दूरीको पदयात्रा हाइकिङका लागि पर्यटक यस स्थानमा आउने गरेको सापकोटाले जानकारी दिए । पर्यटको बढ्दो आगमनसँगै विभिन्न होटेल तथा अन्य पूर्वाधार विकासका काम पनि तीव्ररुपमा बढ्दै गएको उनले बताए । मनकामना मन्दिरको दर्शन गर्न आउने पर्यटक यहाँबाट केही पर रहेको ऐतिहासिक मकवानपुरगढीको भग्नावशेष, पुरानो दरबारक्षेत्र र गढीको अवलोकन गर्न जाने गरेका छन् ।

यस क्षेत्रमा हेटौंडा बजारको बुद्धचोकबाट मोटरसाइकल, गाडी वा अन्य स्थानीय यातायातका साधन प्रयोग गरेर सजिलै आउन सकिन्छ । हेटौंडाको मुख्य बजारक्षेत्रबाट एक घण्टाको पैदलयात्रामा पुगिने भएका कारण पनि छोटोदूरीको पदयात्रा गर्न चाहनेका लागि पनि यो गन्तव्य रोजाइमा पर्नेगरेको छ । यसअघि २०७६ सालमा मकवानपुरका ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो । जिल्लाका १० वटा पालिकाका तीन÷तीन वटा पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएकामा मकवानपुरगढीका ऐतिहासिक महत्व बोकेका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई पर्यटकीय गन्तव्यका समेटिएको थियो ।

पूर्वाधार विकासमा जोड

मनकामना क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न यहाँको स्थानीय तहसँगै प्रदेश सरकारले पनि चासो देखाएको छ । एक बिघा जग्गामा समेटिएको मन्दिरको संरक्षणका लागि बागमती प्रदेश सरकारको १३ लाख ५० हजार लागत सहयोगमा पर्खाल निर्माण लगायत काम भइरहेको मकवानपुरगढी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन तिमल्सिनाले जानकारी दिए । त्यस्तै, मकवानपुरगढी रुद्रबाटिकाको निर्माणकार्य पनि सञ्चालन भइरहेको जानकारी दिँदै उनले बाटिका निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा ५४ लाख विनियोजन भई काम भएको र यसवर्ष २५ लाख लागतमा विभिन्न काम भइरहेको जानकारी दिए ।

पार्कलाई व्यवस्थित गर्दै आएका पर्यटकको बसाई लम्ब्याउन खोजिएको छ । पहिला गौचरनक्षेत्रका रुपमा रहेको यहाँको करिब डेढ बिघा क्षेत्रफलको जग्गामा व्यवस्थित पार्क निर्माण गरी पर्यटकीय गतिवधि बढाउने उद्देश्य राखिएको वडाध्यक्ष तिमल्सिनाले जानकारी दिएका छन् । शनिबारका साथै विभिन्न महत्वपूर्ण तिथिमितिमा आउने भक्तजनको चापलाई दृष्टिगत गरी वडा कार्यालयका तर्फबाट मनकामना मन्दिर पर्यटन पार्क निर्माणका लागि पहल बढाइएको उनले जानकारी दिए । उनका अनुसार करिब एक करोड लागत अनुमान गरिएको पार्क निर्माणका लागि पर्यटन विकास आयोजना मकवानपुरमा प्रस्ताव दर्ता गरिसकिएको छ ।

‘शनिबार र अन्य महत्वपूर्ण तिथिमितिमा आउने भक्तजनको चापसँगै सवारीसाधनलाई व्यवस्थित पार्किङ गर्न हम्मेहम्मे भएको छ’, उनले भने, ‘हाल ठेकी पार्क वरपर अस्थायी किसिमको पार्किङ गर्ने गरिए पनि दिगो व्यवस्थापनका लागि पार्क अपरिहार्य भएको छ ।’ मनकामना मन्दिरसहित यस क्षेत्रलाई विशिष्ट पर्यटकीय गन्तव्यकारुपमा अघि बढाउन खोजिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*