थाहा नगरको बजेट ९० करोड ९७ लाख
हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।नगरपालिकाको २१ औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । सभामा नगरउपप्रमुख भरत गोपालीले आगामी आर्थिक वर्षका लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । पेश भएको बजेट तथा कार्यक्रमलाई नगरप्रमुख विष्णुबहादुर विष्टले निर्णयार्थ पेश गरेका थिए । प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ४३ लाख, समपूरक अनुदान १ करोड ३ लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, राजस्व बाँडफाँड ११ करोड १० लाख ९१ हजार, र दहत्तरबहत्तर १ करोड ५० लाख गरी जम्मा ५५ करोड ८४ लाख ९१ हजार रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार, समपूरक अनुदान २ करोड, ४० लाख, विशेष अनुदान ७० लाख, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार र राजस्व बाँडफाँड ५ करोड ७४ लाख १३ हजार ८ सय ९५ गरी जम्मा १२ करोड ६२ लाख ५२ हजार ८ सय ९५ रहेको छ । त्यसैगरी, सभाले आर्थिक विधेयक, विनियोजन विधेयक र राजश्व विधेयक पनि सर्वसम्मत पास गरेको छ ।
जनसेवा प्रभावकारी बनाउने नीति तथा कार्यक्रम पास
त्यसअघि नगरसभा बैठकमा नगरप्रमुख विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन तथा जनसेवा प्रभावकारी बनाउने कार्यक्रमलाई नगरले प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षभित्र थाहा शीतभण्डार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । किसानलाई उत्पादनपछि बजार व्यवस्थापनमा सहजता प्रदान गर्न शीतभण्डारलाई महत्वपूर्ण परियोजनाका रुपमा अघि सारिएको हो । यससँगै खेतीयोग्य जमिनको माटो सुधार, जैविकमल तथा विषादि प्रयोग प्रवद्र्धन, कृषिसामग्रीमा अनुदान तथा बाँझो जमिनको उपयोगलाई जोड दिइएको छ । फलफूल, कफी, टिमुर, बुद्धचित्त तथा अन्य नगदेबालीको सम्भाव्यता अध्ययन गरिने नीति नगरले लिएको प्रमुख विष्टले बताए ।
‘पशुपालनक्षेत्रलाई प्रोत्साहन गर्न वडा कार्यालयमार्फत् निःशुल्क पशुउपचार तथा औषधि वितरणसेवा सञ्चालन गरिने भएको छ’ विष्टले भने, ‘विकटबस्तीमा पशुस्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै सामुदायिक कुकुरको व्यवस्थापनका लागि बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । पर्यटनलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रुपमा अगाडि बढाउने नीति अन्तर्गत ‘आरोग्य थाहानगर’ अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय आरोग्य पर्यटन रणनीतिअनुसार प्राकृतिक तथा स्वास्थ्य पर्यटनको सम्भावना उपयोग गर्ने लक्ष्य लिइएको छ ।
पर्यटकीय क्षेत्रबाट संकलित राजस्व सोही क्षेत्रको विकासमा लगानी गरिने तथा सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटन पूर्वाधार विस्तार गरिने प्रमुख विष्टले बताए । धार्मिक पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट परियोजनामा समावेश धार्मिकस्थललाई जोडेर धार्मिक ट्रेल निर्माण गरिने भएको छ । वडा नम्बर ३ को शंखमूल क्षेत्रमा मोक्षधाम निर्माणको प्रक्रिया सुरु गरिने तथा आवश्यक पूर्वाधार विकास गरिने योजना नीति तथा कार्यक्रममा समेटिएको छ । रोजगार तथा उद्यमशीलता विकासका लागि नगरपालिकाले रोजगार, सीप तथा उद्यमशीलता केन्द्रलाई संस्थागत संरचनाभित्र समेट्ने भएको छ ।
व्यवसाय दर्तामा महिला, एकलमहिला, दलित, अपा·ता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई विशेष छुट प्रदान गरिनेछ । सहुलियतपूर्ण कर्जा उपलब्ध गराई उद्यम विकासलाई प्रोत्साहन गर्ने तथा करको दायराबाहिर रहेका व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउन विशेष व्यवस्था गरिने भएको छ । सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउन डिजिटल अनुगमन प्रणाली लागू गरिने भएको छ । उत्पादन, संकलन तथा स्थानीय बजार प्रवद्र्धनमा सहकारीको भूमिका बढाइने तथा पर्यटन र स्वास्थ्यक्षेत्रमा कार्यरत सहकारीलाई नगर विकाससँग आबद्ध गरिने नीति लिइएको छ ।
शिक्षाक्षेत्रमा विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान तथा न्यूनतम शिक्षक सुनिश्चिततामा जोड दिइएको छ । स्थानीय पाठ्यक्रम ‘थाहा ज्ञानमाला’को पुनरावलोकन गर्दै नैतिक शिक्षा समावेश गरिने भएको छ । तामाङ भाषाको पाठ्यक्रमलाई निरन्तरता दिइनुका साथै विद्यालयको भौतिक तथा व्यवस्थापकीय अवस्थाको अध्ययन गरिने भएको छ । पालुङ क्याम्पसका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत् सहभागी गराउने पाइलट परियोजना सञ्चालन गरिने नीति पनि अघि सारिएको छ ।
स्वास्थ्यक्षेत्रमा थाहा अस्पताल सञ्चालनमा ल्याउने, प्राकृतिक चिकित्सा तथा एक्युपञ्चर सेवा विस्तार गर्ने, क्षयरोगमुक्त पालिका अभियान सञ्चालन गर्ने र आँखा उपचार सेवालाई विस्तार गर्ने कार्यक्रम समावेश गरिएको छ । मातृ तथा शिशुस्वास्थ्य सेवा सुदृढ गर्न स्तनपान कक्ष विस्तार तथा महिलामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।खानेपानी क्षेत्रलाई विशेष महत्व दिँदै ‘एकघर, एकधारा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनलाई एकीकृत प्रणालीबाट सञ्चालन गर्न खानेपानी बोर्डलाई थप सशक्त बनाइनेछ । नगरभित्र आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना अघि सारिएको छ ।
विकास निर्माणतर्फ साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्दै प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीलाई प्राथमिकता दिइने भएको छ । उपभोक्ता समितिलाई साना प्रकृतिका योजनामा मात्र सीमित गरिने नीति लिइएको छ । भवन निर्माण आचारसंहिता कार्यान्वयन, विपद् उत्थानशील संरचना निर्माण तथा विपद्पछिको पुनर्निर्माणका लागि प्राविधिक टोली परिचालन गरिने नगरप्रमुख विष्टले बताए । वन तथा वातावरण संरक्षणका लागि सामुदायिक विद्यालयमा इको क्लब गठन गरिने, फोहर व्यवस्थापनमा टोल विकास संस्थाको सहभागिता बढाइने तथा सामुदायिक वनसँग सहकार्य गरी पार्क र पिकनिकस्थल निर्माण गरिने योजना नगरपालिकाले अघि सारेको छ ।
सामाजिक सुरक्षातर्फ ज्येष्ठनागरिक, एकलमहिला, दलित बालबालिका, अपा·ता भएका व्यक्ति तथा अन्य लक्षित समुदायको पहुँच सुनिश्चित गरिने भएको छ । राष्ट्रिय परिचयपत्र र व्यक्तिगत घटना दर्ता सेवामा पहुँच नपुगेका बस्तीमा घुम्तीसेवा सञ्चालन गरिने तथा निःशुल्क कानुनी सहायता र मेलमिलाप सेवालाई प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।







