सुर्तीजन्यपदार्थ तथा मदिरा नियमनका लागि समन्वय बैठक

साझाकुरा
२०८३ असार ८, सोमबार १०:३३

हेटौंडा- सुर्तीजन्यपदार्थ तथा मदिराको प्रयोग न्यूनीकरण गर्दै स्वस्थ र सचेत समुदाय निर्माण गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिकामा सुर्तीजन्यपदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणका लागि समन्वय बैठक तथा अभिमुखीकरण सम्पन्न भएको छ ।जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा तथा मकवानपुरगढी गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा जनस्वास्थ्य अधिकृत समर्पण अधिकारीले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।कार्यक्रममा सुर्तीजन्य पदार्थ तथा मदिराले मानवस्वास्थ्यमा पार्ने नकारात्मक असर, नियमन तथा नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था र समुदायस्तरमा अपनाउनुपर्ने रोकथामका उपायबारे जानकारी गराइएको थियो । सहजीकरणका क्रममा अधिकारीले सुर्तीजन्यपदार्थ र मदिराको सेवनले मुटु, फोक्सो, कलेजो तथा मस्तिष्कमा प्रतिकूल असर पार्ने, उच्चरक्तचाप, श्वासप्रश्वाससम्बन्धी समस्या, विभिन्न दीर्घरोग तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने बताएका छन् ।

विशेषगरी किशोरकिशोरी तथा युवालाई यस्ता कुलतबाट जोगाउन परिवार, विद्यालय र समुदायको साझा भूमिका आवश्यक रहेको उनले उल्लेख गरे । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाप्रमुख ध्रुव लामिछानेले गाउँपालिकामा सुर्तीजन्यपदार्थ तथा मदिराका कारण देखिएका स्वास्थ्य तथा सामाजिक समस्याको अवस्था, न्यूनीकरणका लागि गरिएका प्रयास तथा आगामी नीतिगत योजनाबारे जानकारी दिएका छन् । अभिमुखीकरण कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष भागवत घिमिरेले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी, नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सञ्चालन गरिएका कार्यक्रम तथा आगामी योजनाबारे प्रकाश पारेका थिए ।

स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि र स्वस्थ समाज निर्माणका लागि स्थानीय सरकार प्रतिबद्धरहेको उनको भनाइ थियो । कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य केशव बराइली, वडासदस्य विदुर हुमागाईं, वडासचिव सोनिका अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरगढी गाउँपालिका सभापति अर्जुन दाहाल, नेपाली कांग्रेस वडा नं. ३ का सभापति विजय लामा, मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइप्रमुख नारायण घोरासैनी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल विकास संस्था, सहकारी संस्थाका प्रतिनिधि, पत्रकार, विद्यालयका शिक्षक, विद्यार्थी गरी तीन दर्जनभन्दा बढीको सहभागिता थियो ।कार्यक्रममा सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रणका लागि स्थानीय तह, सरोकारवाला निकाय, शैक्षिक संस्था तथा समुदायबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै जनचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीले जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*