अनावश्यक ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह

साझाकुरा
२०८३ श्रावण २१, बिहीबार १२:५४

हेटौंडा- मकवानपुरमा केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ग्यास आपूर्ति तथा वितरण व्यवस्थापनलाई व्यवस्थित बनाउन निर्देशन जारी गरेको छ । प्रशासनले उपभोक्ता, ग्यास व्यवसायी तथा विक्रेतालाई जिम्मेवार भएर सहयोग गर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा पछिल्ला केही दिनयता बजारमा ग्यासको अभाव भएको भन्दै विभिन्न माध्यमबाट गुनासा प्राप्त भएपछि जिल्लामा रहेका ग्यास व्यवसायी तथा विक्रेतासँग पटकपटक छलफल गरिएको उल्लेख गरिएको छ ।

छलफलपछि विगतको तुलनामा बढी परिमाणमा ग्यास बजारमा उपलब्ध गराइएको भएपनि सर्वसाधारणले सहजरुपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो निरन्तर आइरहेकाले आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ ।प्रशासनले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । कृत्रिमरुपमा ग्यास अभाव सिर्जना हुन नदिन सबै उपभोक्ताले आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्नुपर्ने प्रशासनको भनाइ छ । साथै कसैले ग्यास लुकाएको, अनावश्यकरुपमा भण्डारण गरेको वा कालोबजारी गरेको जानकारी भए तत्काल जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिन पनि अनुरोध गरिएको छ । ग्यास विक्रेता तथा व्यवसायीलाई बिक्री तथा वितरणको दैनिक विवरण पारदर्शीरुपमा राख्न निर्देशन दिइएको छ । विवरण नियमितरुपमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रशासनले उपभोक्तालाई आफ्नो ग्यास सिलिन्डरमा सम्बन्धित विक्रेताको नाम र सम्पर्क नम्बर स्पष्टरुपमा उल्लेख गरी आफ्नो पालोअनुसार ग्यास लिन आग्रह गरेको छ । विक्रेताले पनि उपभोक्ताको रोलक्रमअनुसार मात्रै ग्यास बिक्री तथा वितरण गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । यस्तै, आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका उपभोक्तालाई ग्यास अभावका कारण समस्या भोगिरहेका छिमेकी तथा अन्य उपभोक्तालाई सहयोग गर्न प्रशासनले अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले बजारमा पर्याप्त ग्यास उपलब्ध हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने, कालोबजारी गर्ने वा अन्य कुनै गैरकानुनी गतिविधि मार्फत् सर्वसाधारणलाई मर्का पार्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ । ग्यासको सहज आपूर्ति र वितरण व्यवस्थापनमा सबै सरोकारवाला पक्षलाई जिम्मेवार र सहयोगी भूमिका निर्वाह गर्न प्रशासनले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*