हाम्रोघर बालगृहमा १७ वर्षमा १ सय १९ बालबालिकालाई संरक्षण

साझाकुरा
२०८३ श्रावण २८, बिहीबार ११:२६

हेटौंडा- हेटौंडा–५ स्थित सिँचाईटोलमा रहेको हाम्रोघर बालगृहको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरद्वारा सञ्चालित बालगृहको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजना सार्वजनिक गरिएको छ ।मञ्च मकवानपुरकी अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजसेवी सीताराम बर्तौला प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगर पालिका–५ का जनप्रतिनिधि राम बहादुर राई, सिविन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवाली, अधिवक्ता उर्मिला सापकोटालगायत कार्यसमिति सदस्य तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार मञ्च मकवानपुरले विपन्न, असहाय, अनाथ तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । ७ जना बालबालिकाबाट सुरु गरिएको संरक्षण कार्यक्रममार्फत् स्थापना कालदेखि हालसम्म १ सय १९ जना बालबालिकालाई संरक्षण तथा सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको ४३ कोठे भवनमा हाल २० जना बालबालिका संरक्षित छन् । संरक्षणमा रहेका केही बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको, केहीले १८ वर्ष उमेर पूरा गरी स्वावलम्बी बनेका तथा केही वैदेशिक रोजगारीमा गएको जनाइएको छ । संस्थाले बालबालिकालाई खानपान, बसोबास, शिक्षा, स्वास्थ्य उपचार तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । साथै बालगृहमा रहेका बालबालिकालाई सीपमूलक तालिम, उच्चशिक्षा तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिइएको जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय वडा कार्यालय, गाउँपालिका, हेटौंडा उपमहानगरपालिकालगायत विभिन्न निकाय तथा व्यक्तिको सहयोगबाट बालबालिकाको खानपान, लत्ताकपडा तथा स्वास्थ्य उपचारमा २१ लाख ३५ हजार ६ सय ५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै क्यामिना नेपालको सहयोगमा बालबालिकाको शैक्षिक कार्यक्रममा १२ लाख ३ हजार ३ सय ९२ रुपैयाँ, अक्षयकोष वृद्धिमा १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र बालगृह परिसरमा सरस्वती मन्दिर निर्माणका लागि ५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।संस्थाले आगामी आर्थिक वर्षमा आवासीय दिगो बालगृह सञ्चालन, बालस्वास्थ्य संरक्षण कोष स्थापना, बालबालिकालाई ऐतिहासिक तथा मनोरञ्जनात्मक स्थलको भ्रमण, बालअधिकार तथा चेतनामूलक तालिम र बालगृह परिसरमा निर्माणाधीन सरस्वती मन्दिर सम्पन्न गर्ने योजना अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*