हेटौंडा अस्पतालमा थपियो एनआइसीयू सेवा
हेटौंडा- हेटौंडा अस्पतालले नवजातशिशुको जटिल अवस्थाको उपचारका लागि सघन उपचार सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि आठ बेड क्षमताको नवजातशिशु सघन उपचारकक्ष (एनआइसीयू) सञ्चालनमा ल्याएको हो । सेवा सुरुभएको पहिलो दिनमै मंगलबार शल्यक्रियामार्फत् जन्मिएका दुई नवजातशिशुलाई एनआइसीयूमा भर्ना गरी उपचार थालिएको अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काले जानाकारी दिए । एनआइसीयूमा जन्मिएको २८ दिनसम्मका नवजातशिशुको जटिल अवस्थाको उपचार गरिनेछ । यसअघि एनआइसीयू सुविधा नहुँदा जोखिमयुक्त नवजातशिशुलाई थप उपचारका लागि चितवन वा काठमाडौं लैजानुपर्ने अवस्था थियो ।
अस्पतालमै एनआईसीयू सेवा सुरु भएकाले नवजातशिशुको जटिल अवस्थाको उपचारका लागि अन्यत्र लैजानु नपर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंले वताए । एनआइसीयूसँगै अस्पतालमा १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाको जटिल अवस्थाको उपचारका लागि आठ बेडको बाल सघन उपचारकक्ष (पीआइसीयू) पनि संचालनमा ल्याइएको उनले बताए । बागमती प्रदेश सरकारको ३ करोड ७२ लाख बजेटबाट एनआइसीयू र पीआइसीयू सञ्चालनमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईले बताए ।
डा. खड्काकाअनुसार एनआइसीयू सञ्चालनपछि गर्भवतीले प्रसूतिसेवाका लागि हेटौंडा अस्पताल रोज्ने क्रम बढ्ने अपेक्षा गरिएको छ । नवजातशिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेपछि स्थानीयस्तरमै सुरक्षित प्रसूति तथा बालउपचार सेवा विस्तार हुने उनको भनाइ छ । एनआइसीयू संचालनका लागि चारजना मेडिकल अधिकृत, १८ जना स्टाफ नर्स, चारजना स्वीपर र दुईजना सुरक्षागार्ड परिचालन गरिएको छ । अस्पतालले थप दुईजना बालस्वास्थ्य विशेषज्ञ नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ ।
हेटौंडा अस्पतालमा हाल २४ बेडको बालबालिका वार्ड, चार बेडको स्पेशल नियोनेटल केयर युनिट र चार बेडको पोषण पुनःस्थापना केन्द्र संचालनमा छन् । एक महिना अघि हेटौंडा अस्पतालमा करिब ४ करोडको लगानीमा १६ वटा हेमोडाइलायसिस मेसिन खरिद गरेर दैनिक ६० जना विरामीलाई डायलासिस सेवा दिँदै आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संचालन हुँदै आएको प्रादेशिक हेटौंडा अस्पतालमा आठ वटा आइसीयू छन् । अस्पतालमा अहिले १२ जना विशेषज्ञसहित १०९ जना चिकित्सक कार्यरत छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचार गरेर ५ सय ४७ जना कार्यरत छन् । यो अस्पतालमा गत आवमा ३ लाख २५ हजार ६ सय जनाले सेवा लिएका थिए । दैनिक १ हजार ७ सयदेखि १ हजार ८ सय जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । गत आवमा अस्पतालमा ३ हजार ५ सय ६ जना सुत्केरी भएका थिए । तीमध्ये २ सय ३९ जना २० वर्षमूनिका थिए ।







