गलत सूचनाको पछि नलाग्न थपलियाको आग्रह
हेटौंडा-नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्चाल तथा विभिन्न सञ्चारमाध्यमका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।प्रेस विज्ञप्ती जारी गर्दै उनले साउन १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला एक्कासी रक्तचाप र मधुमेहमा असन्तुलन उत्पन्न भई स्वास्थ्यमा गम्भीर जटिलता देखिएको बताएका हुन् । परिस्थितिलाई ध्यानमा राख्दै चिकित्सकहरुको सल्लाह अनुसार थप परीक्षण तथा उपचारका लागि आफू करिब ८ दिन वीर अस्पतालमा भर्नाभई उपचाररत रहेको र अहिले स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
उपचारका क्रममा वीर अस्पतालका प्रा.डा. ध्रुव गैरेको नेतृत्वमा रहेको चिकित्सकको टोली, नर्स तथा स्वास्थ्यकर्मीले देखाएको उच्चव्यावसायिक दक्षता र समर्पणप्रति उनले विशेष आभार व्यक्त गरेका छन् । अस्पतालमै उपस्थित भई तथा फोन र सामाजिक सञ्चाल मार्फत् स्वास्थ्यलाभको कामना गर्ने पार्टी नेता, सहकर्मी, कार्यकर्ता, आफन्तजन तथा शुभचिन्तकलाई उनले धन्यवाद दिएका छन् । आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी दिँदै थपलियाले भनेका छन्, ‘हाल मेरो स्वास्थ्यमा सुधार भइरहेको भएपनि म अझै पूर्णरुपमा स्वस्थ्य भइसकेको छैन । चिकित्सकको सल्लाहअनुसार केही समय नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने भएकाले तत्कालै पूर्ववत्रुपमा राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भई जिम्मेवारी निर्वाह गर्ने अवस्थामा म छैन ।’
यसैबीच आफ्नो स्वास्थ्य अवस्था तथा राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्चालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचनाका आधारमा कुनै निष्कर्षमा नपुग्न उनले सबैमा अनुरोध गरेका छन् । स्वास्थ्यलाभ पछि अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रियस्तरमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।







