उद्योग सञ्चालन अन्योलमा १४ महिनादेखि तलबविहीन हेटौंडा सिमेन्टका कर्मचारी
हेटौंडा- हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले १४ महिनादेखि तलब पाउन सकेका छैनन् । उद्योग लामो समयदेखि बन्द भएपछि कर्मचारीले नियमित पारिश्रमिकसँगै सञ्चय कोष, नागरिक लगानी कोष, बीमा दाखिला तथा अवकाशपछिको उपदानसमेत पाउन नसकेका हुन् ।उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योगको आर्थिक दायित्व कर्मचारीको तलबमा मात्रै सीमित छैन । दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख २१५ रुपैयाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार रुपैयाँ र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार ७२० रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उद्योगले जनाएको छ । सामूहिक सावधिक जीवन बीमाबापत एक करोड ८६ लाख रुपैयाँ, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार रुपैयाँ, नागरिक लगानी कोषबापत ३७ लाख ५३ हजार रुपैयाँ, अवकाश प्राप्त कर्मचारीको उपदान चारकरोड ९० लाख रुपैयाँ र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपैयाँ रहेको छ ।
तलबलगायतका सुविधा लामो समयदेखि रोकिँदा उद्योगका कर्मचारी आर्थिक समस्यामा परेका छन् । कर्मचारीकाअनुसार नियमित आम्दानीको स्रोत बन्द हुँदा घरायसी खर्चदेखि छोराछोरीको शिक्षासम्म व्यवस्थापन गर्न कठिन भएको छ । उद्योगमा कार्यरत कुमदेश झाले लामो समयदेखि तलब नपाउँदा परिवारको खर्च धान्न समस्या भएको बताए । यस्तै, ४२ वर्षीय कर्मचारी दीपेन्द्रकुमार ठाकुरले तलब नआएपछि दुई सन्तानको विद्यालय खर्च जुटाउन समेत कठिन भएको बताए ।तलब तथा अन्य सुविधा उपलब्ध गराउन माग गर्दै कर्मचारीले जिल्ला प्रशासन कार्यालय, कर्मचारी व्यवस्थापन शाखा तथा सम्बन्धित निकायमा पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर, समस्या समाधानका लागि अहिलेसम्म ठोस निर्णय नभएको उनीहरुको गुनासो छ । हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठकाअनुसार उद्योग करिब तीन वर्षदेखि नियमितरुपमा सञ्चालनमा छैन । पछिल्लो समय चालुपुँजीको अभाव भएपछि उद्योग पूर्णरुपमा बन्द भएको हो ।
उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला र जिप्सम चुनढुंगा खरिद गर्न रकम अभाव रहेको श्रेष्ठले बताए । उनकाअनुसार चालुपुँजी तथा कर्जा सुविधाका लागि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग पटकपटक अनुरोध गरिए पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । उद्योगको दैनिक ७५० टन सिमेन्ट उत्पादन क्षमता छ । तर, गत आर्थिक वर्ष २०८२÷८३ मा उद्योग जम्मा ३५ दिन मात्रै सञ्चालन भयो । यो अवधिमा सात हजार १०० टन सिमेन्ट उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा भने कोइला, जिप्सम, चुनढुंगाको अभावका कारण उत्पादन पूर्णरुपमा ठप्प छ ।
उद्योग प्रशासनका अनुसार आवश्यक कच्चापदार्थ खरिदका लागि रकमको व्यवस्था हुन नसक्दा उत्पादन सुरु गर्न सकिएको छैन । हेटौंडा सिमेन्ट उद्योग पछिल्ला सात वर्षदेखि घाटामा सञ्चालन हुँदै आएको छ । विगतमा नाफामा सञ्चालन भएको उद्योग पछिल्लो समय भने निरन्तर आर्थिक संकटमा फसेको हो । आर्थिक वर्ष २०६६÷६७ देखि २०६७÷६८ सम्म दुईवर्ष नाफामा रहेको उद्योग त्यसपछि आर्थिक वर्ष २०६८÷६९ देखि २०७०÷७१ सम्म तीनवर्ष घाटामा गएको थियो ।त्यसपछि आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ सम्म चारवर्ष उद्योग नाफामा सञ्चालन भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा उद्योगले १६ करोड ३६ लाख रुपैयाँ मुनाफा गरेको थियो । त्यसयता भने उद्योग निरन्तर घाटामा रहेको छ । उत्पादन लागत, कच्चापदार्थको उपलब्धता, पुराना उपकरण, चालुपुँजीको अभाव तथा व्यवस्थापकीय समस्याका कारण उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएको बताइएको छ । आर्थिक संकटमा रहेको उद्योगले विगतमा चुनढुंगा ढुवानीका लागि प्रयोग गरेको ११ किमि लामो रोप–वे समेत बिक्री गरिसकेको छ । हेटौंडादेखि भीमफेदीको भैंसेखानीसम्म ११ किलोमिटर लामो रोप–वे थियो ।
विगतमा चुनढुंगा ओसार्न प्रयोग हुँदै आएको रोप–वे लामो समयदेखि प्रयोगविहीन थियो। पुनःसञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै उद्योगले रोप–वे करिब चार करोड रुपैयाँमा लिलना बिक्री गरेको हो । नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ सालबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगमा ६५५ कर्मचारीको दरबन्दी रहेपनि अहिले १२६ जना मात्रै कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा उद्योग सञ्चालनमा थप समस्या भएको उद्योग प्रशासनको भनाइ छ ।हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि आवश्यक चालुपुँजी व्यवस्थापन, कच्चापदार्थको आपूर्ति, खानी सञ्चालन, उपकरण मर्मत तथा कर्मचारीको बक्यौता भुक्तानी प्रमुख चुनौती बनेका छन् । निजीक्षेत्रका सिमेन्ट उद्योगका उत्पादनलाई बजारमा मूल्य सन्तुलन कायम गर्न र गुणस्तरीय सिमेन्टका लागि यो उद्योगको भूमिका महत्वपूर्ण थियो । सरकारी स्वामित्वको उद्योग बन्द भएपछि सिमेन्टमा निजीक्षेत्रको एकाधिकार हुने खतरा रहेको उपभोक्ताले बताएका छन् ।







