संविधान दिवसमा सन्त नेता भट्टराईको स्मरण

साझाकुरा
२०७८ आश्विन ४, सोमबार ०९:४६

हेटौंडा/ नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा नेपाली काँग्रेस पार्टीका सन्तनेता कृष्णप्रसाद भट्टराईको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले सातौं संविधान दिवसको अवसरमा आइतबार काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले समाजवादउन्मुख संविधान निर्माणमा सन्तनेता भट्टराईको ठूलो प्रेरणा रहेको बताइन् ।

केन्द्रीय सदस्य डीनाले २०४७ सालको संविधानको निर्माता भट्टराई भएको र सोही संविधानको जगमा वर्तमान संविधान निर्माण भएको स्मरण गरिन् । उनले जनतालाई सार्वभौम सम्पन्न बनाउने, महिलाको समावेशी सहभागिताको सुनिश्चितता र मौलिक हकको व्यवस्थासहितको संविधान तत्कालीन अवस्थामा भट्टराईको नेतृत्वमै बनेको संविधानले व्यवस्था गरेको बताए ।

उनले १८ वर्ष उमेर पुगेपछि मताधिकार पाउने जस्ता दूरगामी प्रभावपर्ने खालको व्यवस्थासहितको संविधान जारी गरेको र सो व्यवस्थाहरु वर्तमान संविधानमा कायम रहेकोले नेता भट्टराईको प्रेरणा उच्च रहेको स्मरण गरिन् । केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षता रहेको ‘नेपालको संविधान निर्माणमा सन्त नेता किसुनजीको प्रेरणा’ विषयक बिचार गोष्ठीमा नेपाली काँग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, नगर सभापति आनन्दराम पराजुली, केन्द्र उपाध्यक्ष सुभाषचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद दाहालले विषयमा प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*