‘चिकित्सक विकटमा नजाने समस्या समाधान हुन्छ’
हेटौंडा÷स्वास्थ्य मन्त्री विरोध खतिवडाले विकट जिल्लामा चिकित्सक जान नमान्ने समस्या समाधान गर्न जरुरी रहेको औंल्याएका छन् ।
मन्त्री भएसँगै सोमबार गृह नगर हेटौंडास्थित हेटौंडा अस्पतालको निरीक्षण गर्ने क्रममा खतिवडाले विकट जिल्ला र गाउँमा स्वास्थ्यकर्मी नजाने समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
‘विकटका सांसदहरुले अस्पतालमा डाक्टर नै नभएको र जानै नमान्ने गुनासो गर्नुभएकोछ । अहिलेको आवश्यकता भनेको सवै स्वास्थ्य संस्थामा डाक्टरलगायत आवश्यक स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गर्नु हो । त्यसका लागि पहल गर्नेछु ।’, उनले मकवानपुरको मात्र नभएर देशैभरको स्वास्थ्य क्षेत्रमा देखिएको विकृत हटाउनु अहिलेको आवश्यकता रहेको औंल्याए ।
उनले आफू मन्त्री भएसँगै नगरपालिका तथा गाउँ– पालिकाहरुबाट समेत डाक्टरको माग भइरहेको बताए । ‘नगरपालिकाका मेयर तथा गाउँ– पालिकाका प्रमुखहरुले स्वास्थ्यकर्मी आवश्यक रहेको बताइरहेका छन् ।’, मन्त्री खतिवडाले हेटौंडा अस्पताललाई प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मातहत ल्याएसँगै देखा परेको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
‘प्रदेशमा नयाँ सरकार निर्माण हुने क्रममा रहेको । नयाँ सरकार गठन भएसँगै हामी यो समस्या समाधान गर्न पहल गर्नेछौं । अहिलेको सरकार परिवर्तन हुने निश्चित छ ।’,उनले प्रदेश सरकार मातहतमा हेटौंडा अस्पताललाई ल्याउूदा भएको सम्झौता तथा कानुनी प्रक्रिया हेरेर मात्र आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाए ।स्वास्थ्य मन्त्री खतिवडालाई स्वागत गर्दै हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रामचन्द्र सापकोटाले अस्पतालमा देखिएको समस्याबारे जानकारी गराएका थिए । ‘हेटौंडा अस्पताल प्रतिष्ठानमा गएसँगै कर्मचारी व्यवस्थापन तथा अन्य विषयमा अन्यौलता देखिएको छ । यो समस्या समाधान गर्नु अहिलेको मुख्य आवश्यकता हो ।’, सापकोटाले मन्त्री खतिवडाको अस्पतालको समस्याको विषयमा ध्यानाकर्षण गराउँदै अस्पतालले प्रवाह गरेको सेवाबारे जानकारी गराएका थिए ।







