आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आरधना
हेटौंडा/कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व यसवर्ष आइतबारदेखि सुरु भएको थियो । आज बुधबार अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।
यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । छठ पर्वका लागि विशेषगरी हेटौंडाको कर्रा, राप्ती, मनहरी, लोथर, खोलालगायत नदी क्षेत्रमा पाण्डाल बनाएर मनाइने गरिन्छ । यस वर्ष कोरोना महामारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेको छ ।
हेटौंडामा तयारी पूरा
हेटौंडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोलालगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले जानकारी दिए । नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । जसअन्तर्गत मकवानपुरको हेटौँडा लगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको बताइएको छ ।
संयोजक कंशकारले विगत तीन दिनदेखि छठ घाटको निमार्णलाई तीव्रता दिइएको र छठको घाट सजाउने कार्य पूरा भएको जानकारी दिए । गत वर्ष कोरोना महामारीका कारण सामान्यरुपमा छठ पर्व मनाइएको बताउँदै यस वर्ष स्वास्थ्य मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने तयारीमा रहेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा छठको पाण्डाल तयारीमा जुटेको संयोजक कंशकारले बताए । हेटौंडामा रहेको राप्तीतटमा छठघाट (पाण्डाल) करिब ६ सय फिटको दूरीमा निर्माण भएको समितिले जनाएको छ । सो छठको घाटमा एक हजार ब्रतालु र ५० हजार श्रद्धालुले अवलोकन र दर्शन गर्ने अनुमान समितिको छ । छठ पर्वको पूजन सामग्रीको किनमेलका लागि हेटौंडा बजारमा भीड लागेको पाइएको छ । यसका लागि केरा, स्याउ, फलफूल, कागती, अदुुवा, माटोका भाँडाकुँडा, पतौरा, बाँसका सुपली, ढकिया, मिष्टान्न, मैदा, चिनी, सखर, अगरबत्ती, दियोलगायतका पूजन सामग्रीको किनमेल भइरहेको छ ।







