कैलाश गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
हेटौंडा मकवानपुरको दुर्गम तथा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको कैलाश गाउँपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथादीगोपना घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक घलानले खोप बालबालिकाको जीवनरक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र कम लागतको सार्वजनिक स्वास्थ्यसेवा भएको बताए ।
नियमित खोप सेवामार्फत् बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न सकिने उल्लेख गर्दै उनले पूर्णखोप सुनिश्चितता तथा यसको दीगोपना कायम गर्नु प्रत्येक बालबालिकाको स्वास्थ्यअधिकार सुनिश्चित गर्नु भएको बताए ।उनले कैलाश गाउँपालिकाले सबै लक्षितबालबालिकालाई पूर्णखोपको पहुँचमा ल्याई, छुटेका बालबालिकाको खोज तथा व्यवस्थापन, नियमित अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाउँदै यो उपलब्धि हासिल गरेको बताए ।
यो स्वास्थ्य क्षेत्रको मात्र नभई सम्पूर्ण समुदायको साझा सफलता भएको उनको भनाइ थियो । घलानले पूर्णखोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई थप जिम्मेवारीको सुरुवात भएको उल्लेख गर्दै आगामी दिनमा कुनै पनि बालबालिका खोपसेवाबाट वञ्चित हुननदिन नियमित खोप कार्यक्रमलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
जन्मदर्तासँगै खोपसेवामा आबद्ध गराउने, बसाइँसराईं तथा दुर्गमबस्तीका बालबालिकालाई समेत खोपको पहुँचमा ल्याउने कार्यमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहने उनले बताए । राज्यले स्वास्थ्यक्षेत्रमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै प्रमुख घलानले सर्ने तथा नसर्ने रोगको नियन्त्रण र स्वास्थ्य सेवाको दिगोपनाका लागि स्वास्थ्यकर्मीको योगदान अपरिहार्य रहेको बताए । ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालमै उपचारसेवा लिन आमनागरिकलाई उनले आग्रह गरे ।
गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समिति कैलाशका संयोजक मुक्तानले नियमित खोप कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्दै गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकालाई पूर्णखोपको पहुँचमा पु¥याउन सफल भएको बताए । यो उपलब्धि कुनै एकव्यक्ति वा संस्थाको प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै उनले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक, विभिन्न संघसंस्था तथा समुदायको सक्रिय सहभागिता र सहयोगका कारण सम्भव भएको बताए ।
अध्यक्ष मुक्तानले खोप प्रत्येक बालबालिकाको आधारभूतअधिकार भएको उल्लेख गर्दै स्वस्थ्य बालबालिका नै समृद्ध समाज र समुन्नत राष्ट्र निर्माणको आधार भएको बताए । खोपमार्फत् बालबालिकालाई विभिन्न रोगको जोखिमबाट सुरक्षित राख्न सकिने भएकाले कुनैपनि बालबालिका खोपसेवाबाट वञ्चित हुन नहुनेमा उनले जोड दिए । पूर्णखोप सुनिश्चितता घोषणा केवल उपलब्धि मात्र नभई दीर्घकालीन जिम्मेवारी पनि भएको बताउँदै उनले जन्मिने प्रत्येक बालबालिकालाई समयमै खोपको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्चप्राथमिकतामा राख्दै आवश्यक बजेट, स्रोतसाधन तथा जनशक्तिको व्यवस्थापनमा निरन्तर ध्यान दिइरहेको र हाल गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्यसेवा सुरुभएको जानकारी दिए । विकट भौगोलिक अवस्था, न्यून जनसंख्या तथा सीमान्तकृत चेपाङ र तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा समेत स्वास्थ्यसेवा प्रभावकारीरुपमा विस्तार गरिएको उनले बताए । गाउँपालिकाले पोषणसुधार कार्यक्रम सञ्चालन गरिरहेको र हाल वडास्तरमै कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिँदै अबको लक्ष्य ‘जिरो होम डेलिभरी’ रहेको बताए । यो लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन मनिर आलम, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।स्वास्थ्य शाखाप्रमुख तिलकप्रसाद गौतमकाअनुसार गाउँपालिकामा जन्मदेखि १५ महिना सम्मका ३०७ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।
वडा नम्बर १ मा १५, वडा नम्बर २ मा २१, वडा नम्बर ३ मा ४५, वडा नम्बर ४ मा २९, वडा नम्बर ५ मा २९, वडा नम्बर ६ मा १७, वडा नम्बर ७ मा ४७, वडा नम्बर ८ मा ४५, वडा नम्बर ९ मा २४ तथा वडा नम्बर १० मा ३५ जना बालबालिकालाई खोप लगाइएको छ ।घोषणा कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वास्थ्यस्वयंसेविका तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।







