मन्त्रीको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको गम्भीर आपत्ती

साझाकुरा
२०८३ असार ३, बुधबार १३:०३

हेटौंडा-संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिकरुपमा व्यक्त गरेको ‘ठेकेदारको काम नभए खुट्टा भाँचिदिन्छु’ भन्ने अभिव्यक्तिप्रति निर्माण व्यवसायी संघ मकवानपुरले गम्भीर आपत्ति जनाएको छ ।संघले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रीको अभिव्यक्तिले निर्माण व्यवसायीको मानमर्दन गर्ने, धम्कीपूर्ण तथा लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको जनाएको हो । निर्माण व्यवसायीले हाल भोगिरहेका समस्या, बिल भुक्तानीमा ढिलाइ, बजेट अभाव तथा नीतिगत जटिलताका विषयमा सरकार र व्यवसायीबीच समन्वय तथा सहकार्य आवश्यक रहेको अवस्थामा यस्ता अभिव्यक्तिले व्यवसायीको मनोबल कमजोर बनाउने र निर्माणक्षेत्रप्रति नकारात्मक सन्देश प्रवाह गर्ने संघको ठहर छ ।

संघले मन्त्रीको अभिव्यक्ति प्रति घोर आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिएर सार्वजनिकरुपमा क्षमायाचना गर्न आग्रह गरेको छ । साथै भविष्यमा यस्ता गैरजिम्मेवार र उत्तेजक अभिव्यक्ति नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्माणक्षेत्र देशको आर्थिक समृद्धि, पूर्वाधार विकास तथा रोजगारी सिर्जनासँग प्रत्यक्षरुपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा निर्माण व्यवसायीले विभिन्न चुनौतीका बाबजुद राष्ट्र निर्माणमा निरन्तर योगदान पु¥याउँदै आएको जनाउँदै निर्माणक्षेत्रमा देखिएका समस्या बजेट व्यवस्थापन, नीतिगत जटिलता, प्राकृतिक विपद्, स्थानीय अवरोध, डिजाइनसम्बन्धी समस्या, समयमा भुक्तानी नहुनु तथा प्रशासनिक प्रक्रियागत जटिलतासँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

संघले यस्ता समस्याको समाधान संवाद, सहकार्य र संस्थागत प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिएको छ । सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिबाट हिंसात्मक र धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको संघको भनाइ छ । आइतबार नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको निरीक्षणका क्रममा निर्माणपक्षले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको ठेकेदारले समयमै बिजुलीका पोल नसार्दा सडक निर्माणमा अवरोध भइरहेको जानकारी गराएको थियो । त्यसपछि मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई जहाँ भएपनि खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँचिदिनुस्’ भन्दै आक्रोशपूर्ण निर्देशन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*