हेटौंडा कपडा उद्योग पुन : सञ्चालनको तयारी
हेटौंडा-लामो समयदेखि बन्द अवस्थामा रहेको र पटकपटक लिक्वीडेसनमा गएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन तथा आवश्यक तयारी थालिएको छ । संघीय सरकारले कपडा उद्योग पुनः सञ्चालन गर्ने चासो देखाएसँगै स्थानीय सरकारले पनि सक्रियता देखाएको हो ।
मंगलबार हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले उद्योग परिसरको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उद्योगको वर्तमान भौतिक अवस्था, उपलब्ध पूर्वाधार, सञ्चालनका लागि आवश्यक सुधार तथा सम्भावित व्यवस्थापनका विषयमा जानकारी लिइयो ।
निरीक्षण टोलीले उद्योग पुनः सञ्चालनका लागि आवश्यक संरचनागत सुधार, उपकरणको अवस्था तथा लगानीका सम्भावनाबारे छलफल गरेको छ । स्थानीय सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्य मार्फत उद्योग पुनर्जीवनको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । यसअघि गत जेठ ९ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले कपडा उद्योगको निरीक्षण गरेकी थिइन् । सरकारको पूर्णस्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५÷३६ देखि व्यावसायिक उत्पादन सुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ ।
चिनियाँ सरकारको सहयोगमा स्थापना भएको कपडा उद्योग रुग्ण अवस्थामा छ । जीर्ण अवस्था पुगेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा रुग्ण उद्योग पुनः सञ्चालनको सूचीमा पर्ने र चर्चामा आउने गरेको छ । कुनै समय नाफामा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर वि.सं. २०५७ साल फागुन १ गतेबाट बन्द भएको हो । उद्योगमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।
खण्डहर अवस्थामा पुगेको उद्योग पुनःसञ्चालनका लागि २०८० जेठमा नेपाली सेनाले चासो देखाउँदै सरोकारवालासँग छलफल गरेको थियो । सेनाको टोलीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचनालगायत बारेमा जानकारी लिएको थियो । उद्योगका पूर्वकर्मचारीले उद्योग मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धामा टिक्न सक्ने अवस्थामा नरहेकोले यथास्थितिमा सञ्चालन नगरी उपकरण पूरै प्रतिस्थापन गर्न सेनाको टोलीलाई सुझाएको थियो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८ करोड रुपैयाँभन्दा बढी विनियोजन गरी मर्मतका लागि केही बजेट खर्च गरियो । तर, उद्योग सञ्चालनमा आउन सकेन । उद्योगमा रहेका मेसिनरी प्लान्ट अहिले पूर्णरुपमा खिया लागेको अवस्थामा छन् । मर्मतसम्भार गर्दा ती काम लाग्ने अवस्थामा ल्याउन असम्भव छ । पुरानो प्रविधि रहेकाले पुराना मेसिनरी प्लान्ट नियमानुसार लिलाम बिक्री गरी आधुनिक प्रविधिको मेसिनरी प्लान्ट जडान गरी तिनको प्रतिस्थापन गर्न उपयुक्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । विभिन्न समयमा बजेट विनियोजन गरी उद्योगमा भएका सामान्य मेसिन मर्मतसम्भार पश्चात् पुनः सञ्चालन गर्न प्रयास गरिए पनि सञ्चालन भने भएको छैन ।
उद्योगको सम्पूर्ण शाखाको भवन र आवासगृहको छानाबाट पानी चुहिने, फल्स सिलिङ काम नलाग्ने र भवनको वालमा समेत चिरा परेको छ । उद्योगको पेरिमिटर पर्खाल मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको छ । उद्योगमा भएको सम्पूर्ण इलेक्ट्रिफिकेसन लगायत प्लम्बिङ तथा स्टिम पाइपलाइन जीर्ण अवस्थामा रहेको, उद्योग सञ्चालनको लागि सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण÷पुनर्निर्माण तथा मर्मतसम्भार कार्य गर्नुपर्ने अवस्था छ । तत्कालीन अवस्थामा उद्योगमा ११ सयभन्दा बढीले रोजगारी पाएका थिए । २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएर हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो ।
२०३८ सालबाट उद्योगले उत्पादन क्षमता बढाएको थियो । दैनिक एक सिफ्टमा संचालन भइरहेको हेटौंडा कपडा उद्योगले उत्पादन क्षमता बढाएर २०३८ सालबाट दैनिक दुई सिफ्ट सञ्चालन ल्याइयो । त्यसलगत्तै उद्योगले पुनः आफ्नो उत्पादन क्षमतामा विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग संचालन गरेको थियो । दुई सिफ्ट संचालन गरेको ठीक एकवर्ष पछि अर्थात् २०३९ वैशाखबाट उद्योगको उत्पादन क्षमता विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग सञ्चालनमा ल्याइएको थियो ।
तत्कालीन समयमा ३ सिफ्टमा पूर्णक्षमतामा उद्योग संचालन गर्दै उद्योगले वार्षिक १ करोड १० लाख मिटर कोरा कपडा, २ सय ५० मेट्रिकटन सुती कपडा र २ सय ५० मेट्रिकटन बुट्टेदार र सेता कपडा उत्पादन गर्ने गरेको थियो । उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीको अध्ययनका लागि उद्योग परिसरमै हेटेक्स स्कुल पनि संचालनमा ल्याइएको थियो । उद्योग स्थापनादेखि नाफामा रहेको हेटौंडा कपडा उद्योग २०४६ को राजनीतिक परिवर्तनपछि एकाएक समस्या देखापरेको थियो । करिव १९ वर्षसम्म बिनानोक्सानी चलेको हेटौंडा कपडा उद्योग आर्थिक वर्ष २०५४÷५५ बाट भने घाटा व्यहोर्न बाध्य बनेको थियो ।
राजनीतिक नियुक्ति, सरकार परिवर्तन पछिको हस्तक्षेप र कर्मचारी आन्दोलनको प्रत्यक्ष असरका कारण हेटौंडा कपडा उद्योगमा समस्या उत्पन्न भएको तत्कालीन समयमा उद्योगमा कार्यरत कर्मचारीहरु बताउँछन् । बन्द अवस्थाको कपडा उद्योगको हालको संरचना १६५ रोपनी क्षेत्रफल रहेको छ । हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ ।







