पालुङ जेसीजमा चार जना भिड्दै
हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित पालुङ जेसीजको आगामी वर्ष २०२२ को नेतृत्वका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन तालिका अनुसार शनिबारदेखि आइतबारसम्म तोकिएको उम्मेदवारी दर्ताको समय सीमाभित्र अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त मनोज रायमाझीले जानकारी दिए । अध्यक्ष पदका लागि जयराम खत्री, संगम कार्की, निरज रायमाझी र अनिता बिष्टले उम्मेदवारी दर्ता गरेका छन् ।
खत्री गत वर्ष अध्यक्ष पदमा पराजित भएका थिए । कार्की वर्तमान महासचिव, रायमाझी वर्तमान कोषाध्यक्ष र बिष्ट वर्तमान कानूनी सल्लाहकार हुन् ।
यसैगरी दुई कार्यकारी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । कार्यकारी उपाध्यक्षका माधव कार्की, सुविन्द्रमान प्रधान, सञ्जय गोपाली र दिपा बलको उम्मेदवारी परेको हो ।
निर्वाचन आयुक्त रायमाझीका अनुसार चार उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेहरुमा स्वदीप बस्नेत, अजय कार्की, सन्देश गोपाली, अन्जय प्रधान, मानसिं दोङ, अजीत कार्की, कमल विष्ट, सत्यदेवी स्याङतान र अनन्त ढकाल रहेका छन् । पालुङ जेसीजको वर्ष २०२२ का लागि एक सय ४१ जना सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । निर्वाचन तालिका अनुसार मंसिर २२ गते उम्मेदवार तालिम र मंसिर २४ गते निर्वाचनको कार्यक्रम छ ।







