हेटौंडामा २० औं भाट–भटेनी
हेटौंडा-हेटौंडामा भाट–भटेनी सुपर स्टोर बुधवारदेखि सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलमा नेपालकै ठूलो चेन सुपर मार्केट भाट–भटेनीले सेवा सुरु गरेको हो । भाट–भटेनी सुपर स्टोरको २० औं शाखाको रुपमा सेवा सुरुवात गरेको पहिलो दिनमै सर्वसाधारणहरुको बाक्लो भिड लागेको छ । बिहान ९ बजेदेखि नै सुरु भएको सर्वसाधारणको आवतजावत साँझ ८ बजेसम्म पनि कायमै थियो । भाट–भटेनी सुपर स्टोरमा सामान खरिद गर्नेदेखि फोटो खिचाउन सर्वसाधारणहरु व्यस्त थिए ।
हेटौंडामा पहिलो पटक यतिठूलो सुपर मार्केट खुलेको खबरपछि अधिकांश सर्वसाधारण यसको अवलोकनका लागि पनि आएका थिए ।
धेरै सर्वसाधारणले भाट–भटेनी सुपर स्टोरको तलोतलादेखि माथिल्लो तलासम्म अवलोकन गर्नुका साथै फोटो खिचाउन व्यस्त थिए । शुभारम्भको दिन बुधबार बिहानदेखि साँझसम्म करिब ३० हजारले अवलोकन गरेका थिए । २० औं स्टोरको औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले शुभारम्भ गरेका छन् । हेटौंडा–१ का वडाका बासिन्दाले अध्यक्ष गुरुङसहित स्टोरका टिमलाई खादा र पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेको नेतृत्वमा रहेको स्थानीयको टोलीले स्थानीयस्तरमा भाट–भटेनीका कारण आर्थिक गतिविधि चलायमान हुने र रोजगारी सृजना गर्ने कार्यमा सकारात्मक भूमिका खेल्ने भएको भन्दै स्वागत तथा सम्मान व्यक्त गरिएको थियो ।
अध्यक्ष गुरुङले स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउँदै युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको बताएका छन् । उनले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभियान रहेको बताए । ‘भाटभटेनीलाई सातै प्रदेशका मुख्य शहरमा पु¥याउने लक्ष्य लिएका छौं । यहाँ स्थापना भएको स्टोरले हेटौंडामा सुपर मार्केटको सेवासँगै आर्थिक चलायमान हुनुका साथै पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।,’ उनले भने ।
शुभारम्भको अवसरमा ग्रोसरी, लत्ता–कपडालगायत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक बिनोद भट्टराईले जानकारी दिए । हेटौंडाको मुख्य सहरबाट करिब ४ सय मिटर पूर्वमा रहेको स्टोर करिब १४ कठ्ठा क्षेत्रफलमा निर्माण भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । उनले डेढ अर्ब लागत लागेको बताए । स्टोरमा स्थानीय करिब २ सय जनाले रोजगार प्राप्त गर्ने गुरुङले बताए । स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको जनाइएको छ ।
स्टोरको तलो तलामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र कस्मेटिक सामग्री बिक्रीका लागि राखिएका छन् । पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृंगारका सामग्री राखिएको छ । दोस्रो तलामा महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगाएतका ब्राण्डेड फेन्सी सामग्री राखिएको छ । तेस्रो तलामा जुत्ता–चप्पल लगायतका फुटवेयर सामग्री राखिएका छन् । तेस्रो तलामै विभिन्न कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिएको छ ।
चौथो तलामा क्यू एन्ड यू कम्पनीका फर्निचर राखिएको छ । भाटभटेनीमा केएफसी र पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको छ । सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले निकट भविष्यमै क्यूएफएक्स पनि सञ्चालनमा आउने बताए । भाटभटेनीको यात्रामा कोभिड–१९ बाधक बनेपनि बिस्तारै गति लिन थालेको अध्यक्ष गुरुङले सुनाए । भाट–भटेनीले यसअघि कोभिड महामारीका समय देश र जनतालाई समस्या परेको महसुस गर्दै भाभटेनी सुपर मार्केटले सातै प्रदेशलाई २५–२५ लाख सहयोग प्रदान गरेको थियो । हेटौंडापछि विरगञ्ज, जनकपुर, बिर्तामोड र धनगढीमा भाट–भटेनीले अर्को शाखापनि विस्तार गर्न लागेको जनाइएको छ । हालसम्म सञ्चालनमा आएका २० ओटा स्टोरमा करिब ८ हजार कार्यरत रहेका छन् । यसअघि भाट–भटेनीको भक्तपुर,ललितपुर, काठमाडौ, धरान, विराटनगर, चितवन, पोखरा, बुटवल र भैरहवालगायत सहरमा शाखा सञ्चालन गरिसकेको छ ।
स्थानीयद्वारा स्वागत, सम्मान
हेटौंडा÷आफ्नो क्षेत्रमा भाट–भटेनी स्थापना गरेको भन्दै हेटौंडा–१, २ का स्थानीय बासिन्दाले संचालक मिनबहादुर गुरुङलाई स्वागत, सम्मान गरेका छन् । बुधबार भाट–भटेनी उद्घाटनका हुने अगावै हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको नेतृत्वमा स्थानीयले संचालक गुरुङलाई फुलगुच्छा दिँदै, खादा लगाएर स्वागत सम्मान गरेका हुन् । भाट–भटेनीले चौकीटोलाई छुट्टै पहिचान र समग्र जिल्लाको आर्थिक विकासमा थप टेवा पु¥याउने स्थानीयले विश्वास व्यक्त गरेका छन् । स्थानीयले स्वागत गरेको प्रति धन्यवाद व्यक्त गर्दै संचालक गुरुङले चौकीटोलमा थप सहयोगका कार्यक्रम अघि बढाउन आफु तत्पर रहेको प्रतिबद्धता जनाए ।
केएफसीको १३ औं शाखा खुल्यो
हेटौंडा-हेटौंडामा अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले तेह्रौ शाखा विस्तार गरेको छ । हेटौडा उपमहानगर–पालिका–२, चौकीटोलस्थित भाट–भटेनी सुपर स्टोरमा केएफसीले सेवा सुरु गरेको हो । केएफसी रेष्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने जनाइएको छ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोरोना रोकथामका लागि सुरक्षा नीतिसमेत अवलम्बन गरेको छ ।







