बिनाकानून पौडेललाई सुविधा
हेटौंडा-बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले कानुनबिनै सरकारी सेवासुविधा लिएका छन् । बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै पनि सेवा सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था छैन । ४२ महिना बागमती प्रदेश सरकारको नेतृत्व गरेका पूर्व मुख्यमन्त्री पौडेलले प्रदेशका पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सेवासुविधा उपलब्ध गराउने सम्बन्धमा कुनै पनि ऐन कानुन बनाएका छैनन् । तैपनि पूर्वमुख्यमन्त्री पौडेलले कानुनबिना नै सरकारी सेवासुविधा उपभोग गरिरहेका छन् ।
गत भदौ २ गते बागमती प्रदेशको मुख्यमन्त्री पदमुक्त पौडेलले सोही वेलादेखि हालसम्म प्रदेश सरकारबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडी, सुरक्षा गार्ड (पिएसओ) र सवारीचालकको सुविधा लिइरहेका छन् । पौडेल पदमुक्त भएपछि एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका केशव पाण्डेले केही समयका लागि प्रयोग गर्न भन्दै पौडेललाई मन्त्रालयको गाडी उपलब्ध गराएका थिए । सो गाडी पूर्व मुख्यमन्त्री पौडेलले पाँच महिनासम्म पनि फिर्ता नगरेर प्रयोग गरिरहेका छन् । मन्त्रालयका उपसचिव तथा प्रवक्ता नारायण पोखरेलले कुनै पनि कानुनी निर्णय तथा सहमतिबिना नै पौडेललाई गाडी उपलब्ध गराइएको र हालसम्म फिर्ता नभएको बताए ।







