थाहा नगरमा हट्यो शव ढुवानीको समस्या

शम्भु अधिकारी
२०७८ पुष ९, शुक्रबार ०९:३५

थाहा नगर-थाहा नगरपालिका वडा नम्बर ४ का संजय थिङ घाँस काट्ने क्रममा रुखबाट लडे । उपचार गर्न नभ्याउँदै उनको ठाउँको ठाउँ ज्यान गयो । सिमभन्ज्याङका थिङ डाले घाँस काट्न रुख चढेका थिए ।  आर्थिकस्तर कमजोर भएका उनी अर्केको घरमा काम गर्न बस्थे । संजयको ज्यान गएपछि पोष्टमार्टम गर्नु अनिवार्य थियो । यसका लागि हेटौंडा वा काठमाण्डौं पु¥याउनुपर्ने उत्तरी मकवानपुरका पालिकाबासीहरुको बाध्यता हो । यो बाध्यताले संजयका परिवारलाई पनि छोडेन ।

आर्थिक अवस्था कमजोर भएका उनका परिवार र आफन्तले जसोतसो स्थानीय ट्रिपरलाई कुरो मिलाए–शव हेटौंडा पु¥याएको मात्र २० हजार । शव बोक्ने सवारीका लागि धेरै अनुरोध गर्नुपर्ने करुणाभूमि सामुदायिक वनका अध्यक्ष बिनोद लामाले बताए ।  लामा भन्छन् ‘शव बहान नहुँदा गाडीहरुले लास बोक्न मान्दै मान्दैनन्, हेटौंडाबाट शव बहान आउन उस्तै मुस्किल  हुन्छ ।’ उनका अनुसार आत्महत्या र दुर्घटनामा परी ज्यान गएकाहरुको पोष्टमार्टम गर्नका लागि मृतकका परिवारले मोटो रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

सिमभन्ज्याङका संजय थिङका परिवारले जस्तै दामनकी डोल्मा शेर्पाले आफ्नी छोरीको मृत्युमा निकै दुःख पाइन् । एकातिर पारिवारको शोक अर्कोतिर पोष्टमार्टमका लागि सवारी शव बोक्ने सवारी नपाउनुहो पीडा भनिसाध्य नहुने लामा बताउँछन् । यस्तो दर्जनौ समस्यामा सहजीकरण गरेको लामाको अनुभव छ । उनी भन्छन्  ‘सहजीकरण गरिन्छ तर आर्थिक भार घटाउनै सकिदै सकिदैन, कतिपयले त ऋण गरेर पोष्ट मार्टम गराउनुपर्ने बाध्यता छ ।’  यि दुई परिवार त प्रतिनीधि पात्र मात्र हुन् । थाहानगर र छिमेकी पालिकाहरुले यस किसिमको अतिआवश्यकीय सेवा नपाउँदा झन दुःख पाएका छन् ।

नागरिकको यो समस्यालाई समाधान गर्न थाहा नगरपालिकालेले शव बहान सेवा संचालन गर्ने भएको  छ । थाहानगर र छिमेकी गाउँ– पालिकाहरुलाई समेत सेवा दिने उद्देश्यले शव बहान संचालन सेवा शुरु गरिने नगर प्रमुख लवशेर विष्टले बताए ।  थाहा नगरपालिकालाई उक्त सेवा संचालनका लागि टिष्टुङ बज्रवाराही नेवाः पुचःले सवारी साधन उपलब्ध गराएको हो । पालिकामा ७ पौषमा एक कार्यक्रमका बीच सम्पूर्ण आम्दानी खर्च पालिकाकै हुने गरी पुचःले बा ८ च २६५ नम्बरको सवारी उपलब्ध गराएको हो । यसको संयोजन थाहा नगरपालिका वडा नम्बर ६ का प्रमोद जोशीले गरेका थिए । जोशी  राष्ट्रिय उपभोक्ता मञ्चका थाहानगर अध्यक्ष हुन् ।

शव बहान नुहँदा मकवानपुरकै कैलाश गाउँपालिकाका एक परिवारले शव पोष्टमार्टमका लागि अस्पतालसम्म पु¥याउन ४० हजार तिर्न परेको दुखद् खबरपछि जोशी समस्या समाधानको खोजीमा लागेका थिए । पारिवारिक शोकमा झन आर्थिक पीडा थपिने आवस्थालाई समाधान गर्न विभिन्न संघंसस्थामा शव बहान माग  गरेको जोशी बताउँछन् । उनी भन्छन–‘टिष्टुङ बज्रवाराही नेवा पुचःले सहयोग गर्न तत्परता देखाइ सहयोग गर्यो धेरै खुशी लाग्यो ।’ उनले सहयोग गर्ने संस्था र टिमलाई प्रशंसा सहित धन्यवाद दिए ।

सवारी साधनको आम्दानी खर्चमा पुचः सहभागी नहुने सम्झौतासहित अध्यक्ष हरिगोपाल श्रेष्ठले सवारी साधन पालिकालाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण सम्झौतामा पालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे र पुचःका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन् भने थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपाली साक्षी बसेका छन् । पुचःको तर्फबाट संरक्षक बिनोद महर्जन, महासचिव खिल बहादुर बलामी, कोषाध्यक्ष बाहान नारायण महर्जन, र सदस्य बैकुण्ठ श्रेष्ठ हस्तान्तरण सम्झौतामा साक्षी छन् ।

हस्तान्तरण कार्यक्रममा पुचःका अध्यक्ष हरिगोपाल श्रेष्ठले नागरिकहरुलाई सहज सेवाको लागि शव बहान सवारी साधन सहयोग गरेको बताए । उनले सहयोगको भरपुर प्रयोगमा ल्याउन नगरपालिकालाई अनुरोध गरे । शव बहानका लागि सवारी साधन उपलब्ध गराएकोमा नगर प्रमुख लवशेर विष्टले टिष्टुङ बज्रवाराही नेवा पुचः लाई धन्यवाद दिए । नागरिकको विभिन्न आवश्यकताहरु पूरा गर्ने सन्दर्भमा पुचःले नगरपालिकालाई पु¥याएको योगदानको उच्च प्रशंसा गरे ।

नगर प्रमुख विष्टले शव बहान नियमित संचालनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘शव बहान संचालनको कार्यविधि निर्माण गरी नागरिकको सेवामा लगाउँछु, दाता संस्था ढुक्क हुनुस् ।’ सम्झौता अनुसार शव बहानको जनशक्ती व्यवस्थापन, मर्मत संभार, आम्दानी खर्च व्यवस्थापन पालिकाले नै गर्नुपर्ने उल्लेख छ ।  शव बहान मर्मत संभार गरेर पनि संचालन हुन नसक्ने अवस्था भएमा कार्यापालिकाबाट निर्णय गरी दाता संस्था टिष्टुङ बज्रवाराही नेवा पुचः लाई  हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै शव बहानमा ‘टिष्टुङ बज्रवाराही नेवा पुचः मा को सहयोगमा थाहा नगरपालिकाबाट संचालित शव बहान’ लेख्नुपर्ने पनि उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*