३४ जनाद्वारा रक्तदान
हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठकको अवसरमा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पहिलो बैठकको अवसरमा हेटौंडा–२ स्थित पार्टी कार्यालय परिसरमा आयोजित रक्तदानमा ३६ जनाले रगत दिएका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ जना महिला र ३३ जना पुरुषले रक्तदान गरेका रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिए ।
कार्यक्रम संयोजक तथा बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सभापति बानियाँले काँगे्रसले कुनैपनि कार्यको सुरुवात गर्दा दान तथा सहयोग जस्ता शुभ काम गरेर सुरुवात गर्ने भएकाले प्रदेश समितिको पहिलो बैठक बस्नुअघि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । कम्युनिष्टहरुले जहिले पनि जनतालाई लुट्ने काम गर्ने गरेको दाबी गर्दै उनले काँग्रेस जनतालाई हरेक प्रकारले सहयोग गर्ने पार्टी रहेको बताए ।







