कर्मचारी र शिक्षक राजनीतिमा देखिए कारबाही
हेटौंडा-गाउँपालिकाभित्र कार्यरत् कर्मचारी र शिक्षकहरुलाई राजनीतिक दलमा आवद्धता भई पार्टीको सभा, समारोहमा सहभागी नहुन निर्देशन दिइएको छ । आफ्ना कर्मचारीहरु राजनीतिक दलको कार्यक्रममा सहभागी भएपछि नियमित काममा अवरोध पुगेपछि मकवानपुरगढी गाउँपालिका कार्यालयले कर्मचारीहरुलाई राजनीतिक दलमा नलाग्न चेतावनीयुक्त निर्देशन दिएको छ ।
गाउँपालिकाले कर्मचारी र शिक्षकलाई घुमारो भाषामा नोकरी वा राजनीति रोज्न भनेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य संस्थाका कर्मचारी र विद्यालयका शिक्षकहरुलाई
राजनीतिक दलमा लागेको पाए कारबाही गर्ने चेतावनी दिएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा कार्यरत् कर्मचारीहरु राजनीतिमा लागेको जनाएको छ । ‘राज्यको कोषबाट पारिश्रमिक सेवा सुविधा लिने कर्मचारीहरु विभिन्न राजनीतिक दलहरुको सभा, समारोहमा उपस्थिति हुने, पार्टीको सदस्यता लिएको र सामाजिक सञ्जालमा राजनीतिक अभिव्यक्ति दिनेलगायतका क्रियाकलाप गरेको पाइएकोले त्यस्ता क्रियाकलाप नगर्न÷नगराउन सूचना जारी गरिएको छ ।,’ गाउँपालिकाले भनेको छ । गाउँपालिका कार्यालयले राजनीतिक दलको सदस्यता लिएर, पार्टीको गतिविधिमा सक्रिय कर्मचारीहरुमाथि निगरानी गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले कर्मचारीहरुलाई स्वच्छरुपमा राष्ट्र सेवक कर्मचारीका रुपमा काम गर्न सचेत गराइएको जनाएका छन् । उनले गाउँ– पालिकाको आग्रहलाई अटेर गरे कानुन अनुसार कारबाही गर्ने बताए । उनका अनुसार सचेत गराए पछि पनि राजनीतिक दलमा लागेर हिँडे निजामति सेवा ऐन–२०४९ को परिच्छेद ७ को आचारविरुद्ध कारबाही हुनेछ ।
गाउँपालिकाभित्रका कर्मचारी र शिक्षकहरुले राजनीतिक दलको वकालत गर्दै हिँडेको, सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार र एकअर्काबीच वादविवादमा उत्रिएको विषयलाई लिएर गाउँपालिकाबासीले ध्यानाकर्षण गराएका थिए । सर्वसाधारणहरुले कर्मचारीको आचरणलाई लिएर गुनासो गरेपछि गाउँपालिकाले ‘एक्सन’ लिएको जनाइएको छ । राजनीतिक दलमा लागेर हिँडेका कर्मचारीहरुलाई कार्यालयले यसअघि मौखिक रुपमा सचेत गराएपनि कार्यान्वयनमा भने नआएको बुझिएको छ ।यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको महाधिवेशनमा कर्मचारी तथा शिक्षकहरु प्रतिनिधि बनेर गएको घटनाले अदालतले नै सरकारको ध्यानाकर्षण गराएको थियो । मंसिर २०७८ मा उच्च अदालत पाटनले कुनैपनि राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई
कारबाही गर्न आदेश नै जारी गरेको थियो ।
मकवानपुरगढीभित्रका विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरु पनि राजनीतिक दलमा आवद्ध रहेको पाइएको छ । केही शिक्षक र कर्मचारीहरु सामाजिक सञ्जालमा आफू निकट पार्टीको खुलेयाम गुनगान गाउनेदेखि अन्य पार्टीको अछुतो काट्ने कार्यमा लागिपरेको पाइएको हो ।गाउँपालिकाले कर्मचारी र शिक्षकहरुमा कडाई गरेपछि सर्वसाधारणले कार्यालयलाई धन्यवाद दिएका छन् । कार्यालयद्वारा जारी सूचनामाथि प्रतिक्रिया राख्दै उनीहरुले सूचनाअनुसार कार्यान्वयनमा जोड दिन गाउँपालिकालाई आग्रह गरेका छन् । शिक्षकसमेत रहेका रामजी हुमागाईंले पार्टीको भातृ संगठनका रुपमा रहेका कर्मचारी ÷शिक्षक संघ–संगठन हुन नहुने बताएका छन् । जनताको करबाट सेवा सुबिधा लिएर कुनै दलको भजन गाउँदा अशोभनीय भएको स्थानीय दीर्घ थापाले बताए ।







