एमालेबाट राजनीतिक नियुक्ति पाएकालाई हटाउने तयारी
हेटौंडा-बागमतीमा सरकार परिवर्तन भएसँगै नेकपा एमाले नेतृत्वको सरकार हुँदा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने तयारी भएको छ । बागमतीमा ४४ महिना लामो सत्ताबाट बर्हिगमन भएको एमालेले करिब १५ देखि २० वटा निकायमा गरेको राजनीतिक नियुक्ती खारेज गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनाएको छ । प्रदेश सभामा स्पष्ट बहुमत रहेको एमाले विभाजन भएसँगै ११ कार्तिकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन सरकार गठन भएको थियो । प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले गरिरहेका छन् ।
११ कार्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले गठबन्धनको सरकारबाट जनताले जनप्रेमी सरकारको अनुभव गर्ने गरी काम गर्ने दाबी गर्दै आइरहेका छन् । उनले गठबन्धन सरकारको ‘स्पिड’मा काम गर्न भन्दै एमालेले गरेको तत्कालीन नियुक्तीलाई हटाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । ‘गठबन्धनको सरकार छ । एमालेले पहिला नियुक्ती गरेकाबाट अपेक्षाअनुसारको काम हुन सकेको छैन् । केही अनियमितता र आलोचनात्मक कामपनि भइरहेको पाएका छौं । उनीहरुलाई हटाउने तयारी भएको छ ।,’ स्रोतले भन्यो ।
बागमतीमा प्रदेश सहकारी बोर्ड, दुग्ध विकास बोर्ड, प्रदेश खेलकुद विकास परिषद्, प्रदेश युवा परिषद्, व्यवसाय प्रवद्र्धन बोर्डलगायतका करिब १५ देखि २० वटा निकायमा एमाले सरकारले नियुक्त गरेकाहरुलाई हटाउने तयारी भएको हो । नियुक्त भएका पदाधिकारीहरुलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । ‘पदाधिकारीहरु हटाउन स्पष्टिकरण सोध्ने तयारी भएको छ । सायदै पुसको अन्तिमदेखि हटाउने प्रक्रिया अघि बढ्छ ।,’ स्रोतले भन्यो । सम्बन्धित मन्त्रालयले आफू मातहतका निकायका पदाधिकारी हटाउन तयारी गरिसकेको जनाइएको छ । मन्त्रीहरुले पदाधिकारीहरुलाई हटाउने प्रक्रियाबारे छलफल गरिरहेका छन् । ‘मन्त्रीहरुलाई निर्देशन भइसकेको छ । सम्बन्धित मन्त्रालयले नै पदाधिकारीहरु हटाउने प्रक्रिया अगाडि बढाउँछ ।’, स्रोत भन्छ । नियुक्त भएका पदाधिकारी हटाउँदा कानुनी अड्चन नआउने गरी काम गर्न खोजिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । ‘केहीलाई हटाउन खोज्दा अदालतले निर्णय उल्टाइदिएला भन्ने कुरामा छलफल भइरहेको छ । त्यस्तो अवस्थामा छानबिन समिति बनाएर भएपनि नियुक्त पदाधिकारी हटाउने तयारी गरिरहेको हो ।,’ स्रोतको भनाइ छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउन छानबिन समिति बनाएर अघि बढ्ने तयारी भइरहेको जनाइएको छ । प्रतिष्ठानको रजिष्ट्रारमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंका छोरा राजेश प्रसाईंलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका थिए । रजिष्ट्रार प्रसाईंले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कर्मचारी भर्ती गरेको भन्दै व्यापक आलोचना भएको थियो ।







