सहयोगीको कारोबार १० करोड ९२ लाख
हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा संचालित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा भएको छ । संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्ष र थाहा नगरपालिका प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभामा आफ्नो प्रतिबेदन पेश गर्दै अध्यक्ष अञ्जल प्रधानले संस्थाले आगामी दिनहरुमा अन्य लगानीका क्षेत्रहरुको खोजी गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा दिँदै अग्रणी सहकारीको रुपमा स्थापित गर्दै लाने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष प्रधानले सस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थागत पूँजी बृद्धि, भौतिक पूर्वाधार र प्रबिधिको बिकास गर्ने, सदस्य तथा कर्मचारीको क्षमता अभिबृद्धि गर्ने, लगानीको विशेष क्षेत्रको पहिचान गर्ने, लगायतका योजना प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअुनसार सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा १० करोड ९२ लाखको आर्थिक कारोबार गरेको छ । संस्थाले ८ करोड २ लाख ऋण लगानी गरेको छ भने, ७ करोड ६४ लाख बचत गरेको छ । त्यसैगरी सहकारीमा हाल २ करोड ७२ लाख तरलता रहेको संस्थासँग ५७ लाखको जगेडा कोष रहेकोमा एम्बुलेन्स सेवा कोषमा ८ लाख ७४ हजार,ऋण सुरक्षण कोष तथा दैवी प्रकोप कोषमा ४७ लाख ३६ हजार रहेको प्रतिबेदनमा उल्लेख छ ।
सहकारीमा शेयर पूँजी १ करोड ५१ लाख रहेको छ भने यो बर्ष ३४ लाख खुद नाफा गरेको संस्थाका सचिव धर्मलाल प्रधानले जानकारी दिए । कार्यक्रममा संस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा ज्यान गुमाएपछि बीमा स्वरुप २५ लाख रुपैयाँको प्रधानकी श्रीमति सावित्री प्रधान लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा थाहा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पुर्षोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य जर्म श्रेष्ठ, नेपाल बैंक पालुङ शाखाका प्रमुख, सिन्धु बिकास बैंक पालुङ शाखाका प्रमुख, सेन्चुरी कमर्सियल बैंक पालुङ शाखाका प्रमुखलगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।







