दिव्यतारा अध्यक्षमा लामा, डिना बनिन् संरक्षक
हेटौंडा-जिल्लाकै अग्रणी सहकारी संस्था दिव्यतारा बहुउद्देश्यीयको अध्यक्षमा डा. गणेशबहादुर बल लामा चयन भएका छन् । सहकारीको २३ औं वार्षिक साधारणसभाले लामालाई अध्यक्षमा चयन गरेको हो । भीमफेदीको धोर्सिङमा १५ जेठ २००३ सालमा जन्मिएका लामा मकवानपुरको तामाङ समुदायबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति हुन् । उनले रुसबाट सन् १९८७ मा बायोलोजी र फिजिक्समा विद्यावारिधी गरेका थिए । बायोलोजी र फिजिक्समा पिएचडी गर्ने लामा मकवानपुरका पहिलो व्यक्तिपनि हुन् । जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखीका प्राध्यापकसमेत रहेका लामाले सहकारीमा संस्थापन कालदेखि नै उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
सहकारीमा लामो समय अध्यक्ष भएकी महालक्ष्मी उपाध्याय डिना संस्थापक संरक्षक भएपछि लामालाई शनिवार भएको साधारणसभाले अध्यक्षमा चयन गरेको हो । सहकारीलाई जिल्लाकै अग्रणी सहकारी बनाउन डिनाले महत्वपूर्ण भूमिका निर्वाह खेलेकी थिइन् । उनलाई साधारणसभाले सहकारीको विधान संशोधन गरेर संस्थापक संरक्षक बनाएको छ । अध्यक्ष चुनिएका लामाले आफ्नो कार्यकालमा सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक उन्नतीको लागि प्रतिबद्धत भएर काम गर्ने बताएका छन् । सहकारीलाई उत्पादनको क्षेत्रमा अझै बढी उपस्थिति गराउने लामाको भनाई छ ।
साधारणसभाले सहकारीको उपाध्यक्षमा गणेशप्रसाद भेटवाल, सचिवमा इश्वर पण्डित, कोषाध्यक्षमा ज्ञानेन्द्र बर्तौला, सहसचिवमा निलम बजगाईं देवकोटालाई चयन गरेको थियो । सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, बालगोपाल कँडेल, माधवप्रसाद न्यौपाने, शर्मिला डंगोल, दिनेश उपाध्याय, लालबहादुर श्रेष्ठ, गणेशकुमार पौडेल र सुनिलकुमार बानियाँ चयन भएका हुन् । यसैगरी लेखा समिति संयोजकमा प्रकाश खतिवडा र सदस्यमा राजकुमार न्यौपाने र सुनिता श्रेष्ठ हाडा चयन भएका छन् ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । हेटौंडा–२, पल्पसारोडमा रहेको सहकारीमा ८ हजार ७ सय ८६ जना शेयर सदस्य छन् । सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख, ५१ करोड ४२ लाख बचत संकलन रहेको छ । सहकारीले मकवानपुरभित्र विभिन्न पालिका र जिल्ला बाहिरपनि सेवा केन्द्र सञ्चालन गरेर शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।







