आइतबार थपिए १७ संक्रमित
हेटौंडा-देशभरसँगै मकवानपुरमा पनि कोरोना भाइरस संक्रमण बढेको छ । गत भदौपछि क्रमशः घट्दो संक्रमित संख्या रहेको मकवानपुरमा आइतबार एकैदिन १७ जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ६ सय २४ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।
जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३० जना पुगेका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालमा दैनिक जसो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । बैठकले प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि सीसीएमसीसीले गरेको प्रवक्ता नेपालले बताइन् ।







