सिबिनबाट किन भागे चार बालिका ?
हेटौंडा÷सिबिन बाल हेल्पलाइन मकवानपुरमा परामर्शका लागि राखिएका चार बालिका आइतबार राती हराएका छन् । बाल हेल्पलाइनको कोठामा बसिरहेका चार बालिका आइतबार साँझ करिब सात बजे भागेका हुन् । ३ जना भागेर काठमाडौं पुगेका थिए भने एक बालिका मकवानपुरकै भीमफेदी पुगेकी थिइन् । काठमाडौं पुगेका बालिकालाई सिबिन बाल हेल्पलाइनको सहयोगमा प्रहरीले सोमबार दिउसो फेला पारेको छ । उनीहरु हाल बौद्ध प्रहरीको सुरक्षाभित्र छन् । काठमाडौं पुग्नेमा भीमफेदी गाउँपालिका घर भएकी १३ वर्षीया, बकैया गाउँपालिकाकी १६ वर्षीया र हेटौंडा उपमहानगरपालिकाकी १५ वर्षीया बालिका रहेका छन् ।
सिबिन बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले उनीहरु परामर्शका लागि बसेको कोठा फुटाएर भागेको जानकारी दिए । उनका अनुसार मकवानपुरगढी गाउँपालिका घर भएकी १५ वर्षीया बालिका भने भीमफेदी पुगेकी थिइन् । उनीहरु चारैजना मिलेर योजनाबद्ध ढंगले भागेको ज्ञवालीको भनाई छ । बकैया र हेटौंडाकी बालिका जर्वजस्तीकरणी घटनाका पीडित हुन् । उनीहरुलाई विगत चार दिनदेखि बाल हेल्पलाइनमा मनोसामाजिक परामर्शका लागि राखिएको थियो ।
मकवानपुरगढीकी बालिका बालविवाह घटनाकी हुन् । विगत सात दिनदेखि हेल्पलाइनमा बस्दै आएकी उनी भागेर भीमफेदीस्थित केटाको दिदीको घर पुगेको ज्ञवालीले जानकारी दिएका छन् । भीमफेदी गाउँपालिकाकी बालिका भने लागूऔषध पदार्थ दुव्र्यसनी घटनाकी हुन् । उनलाई परिवारले परामर्शका लागि हेल्पलाइनमा राखेको थियो । हेल्पलाइनमा परामर्शका लागि रहेका ५ बालिकामध्ये चार जना भागेका थिए भने एक बालिका नभागेको कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रवक्ता राजकुमार सापकोटाले हेल्पलाइनको गेटको ताल्चा फोडेर भागेको बताए । ‘हामीलाई जानकारी आए अनुसार बालिकाहरु ताल्चा फुटाएर भागेका रहेछन् । तीन जनालाई काठमाडौंको बौद्ध प्रहरीले फेला पारेर सुरक्षा दिइरहेको छ ।,’ सापकोटाले भने । सिबिनले बालिकाहरुलाई पुनः परामर्शका लागि ल्याउने की नल्याउने भन्ने बारे परिवारसँग छलफल गरेर मात्रै टुंग्याउने कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिएका छन् ।
सिबिनले पूर्ण सुरक्षासहित परामर्श दिइरहेका बालिका भाग्दा भने कमजोर सुरक्षाको आलोचना भएको छ । सिबिनले बलियो सुरक्षा दिन नसक्दा बालिकाहरु भागेको परिवारले जनाएको छ । सिबिनले भने बालिकाहरु भाग्नुको कारण बारे अनुसन्धान गरिरहेको जनाएको छ । ‘बालिकाहरु भाग्नुको कारणमाथि हामीले अनुसन्धान गरिरहेका छौं । उनीहरुलाई यहाँ ल्याएपछि थप खुल्ने छ । परिवारसँग छलफल गरेर अघि बढ्छौं ।,’ ज्ञवालीले भने ।







