‘हेटौंडा औद्योगिक क्षेत्रबारे मन्त्रालयलाई ज्ञान छैन’
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडा औद्योगिक क्षेत्रलगायतको अवस्थाबारे संघीय मन्त्रालयलाई कुनै ज्ञान नै नभएको आरोप लगाएका छन् । उद्योग संघ मकवानपुरको २० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय मन्त्रालय बागमती प्रदेशभित्र दशकौंदेखि संचालित चार वटा औद्योगिक क्षेत्रबारे जानकार नभएको र वेवास्ता गरेको आरोप लगाएका हुन् । उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा नपरेकोसमेत दाबी गरे । मुख्यमन्त्री पौडेलले संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरु जंगलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।
विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र वनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको उनको भनाइ छ । पर्यटन र वनका काम गर्न सजिलो हुने भएकाले उद्योगतर्फ कुनै मन्त्रीहरुको ध्यान नगएको उनले बताए । ती उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरुलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरुमा देखिने गरी प्रगति हुने उनले बताएका थिए ।
‘बागमती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरू पर्छन् । ती औद्योगिक क्षेत्रको अवस्था आमाबुबा गुमाएका सन्तानको हालत जे हुन्छ त्यस्तै छ । आज भन्दा ३० औँ वर्ष अघि जसले उद्योग खोल्छु भनेर जग्गा लिजमा लियो त्यो मान्छे अहिले कहाँ छ थाहा छैन तर उनीहरुकै नाममा त्यो जग्गाको स्वामित्व छ । बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’ उनले भने ।
‘खर्च बढ्छ भन्ने चिन्ता गरेर मन्त्रालय विभाजनको निर्णयको विरोध भइरहेको छ । मैले पनि देखेको छु । सरकारको खर्च बढ्नु पर्छ । सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन । खर्च गरे तरलता अभाव कम हुन्छ । खर्च गरेर काम गरेर नतिजा लिने हो । अहिले बैंकमा गयो भने योजना राम्रो छ तर ऋण दिन सक्दिन भन्ने जवाफ आउँछ । त्यो खर्च नगरेर भएको हो । आम्दानी बढाउने गरी सरकारले खर्च गर्नुपर्छ हामी त्यसैमा लागेका छौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।
कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताएका छन् । पहिलो लहरको कोरोनामा सरकार आँत्तिएर पूर्ण रुपमा उद्योग बन्द गर्ने नीति ल्याएकै कारण आर्थिक अवस्था क्षतविक्षत भएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले आरोप लगाए ।
‘उद्योगी सडकमा आउने वातावरण सरकारले बताउँदा, उद्योगी मात्र मारमा पर्ने होइन । देशको समग्र आर्थिक अवस्थानै धरासायी बन्नेछ ।’ उनले भने ‘त्यसकारण महामारीमा पनि सरकारले सुरक्षित वातावरण बनाइ दिएर कम्तीमा ५० प्रतिशत क्षमतामा निरन्तर उद्योग संचालन हुने नीति बनाउन जरुरी छ ।’
प्याकुरेलको नेतृत्व सर्वसम्मत चयन्
हेटौंडा-उद्योग संघ मकवानपुरको अध्यक्षमा स्वागतराज प्याकुरेल चयन भएका छन् । सोमबार सम्पन्न संघको २० औं साधारणसभाले प्याकुरेलको अध्यक्षमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा, द्वितीय उपाध्यक्षमा श्रीहरि मास्के, महासचिवमा किशोर अर्याल, सचिवमा सुयसराज पराजुली, कोषाध्यक्षमा श्याम ढकाल र सहकोषाध्यक्षमा बुद्धराज अर्याललाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा सबिता पौडेल, सबिना सिटौला, हरिहर अर्याल, दिवस चौलागाईं, शिरोमणि प्याकुरेल, सम्राट सिंह, श्रीजन कोइराला, सरदचन्द्र भट्टराई,नितिन जैन चुनिएका छन् ।







