मंगलबार एकैदिन थपिए ५८ संक्रमित
हेटौंडा-मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । जिल्लामा मंगलबार एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडामा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी थाहा नगरपालिकाका एक जना र मनहरी गाउँपालिकाका २० जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ७ सय २ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३० जना पुगेका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घन्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार देखिएको तथ्यांक सोमबार देखिएको तथ्यांकभन्दा झन्डै दोब्बर हो । सोमबार एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन सय १३ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २२ जना रहेको छ ।







