गुम्बा डाँडामा भक्तबहादुरको शालिक
हेटौंडा-मुलुकको विभिन्न परिवर्तनमा योगदान पु¥याएका अगुवा कम्युनिस्ट भक्तबहादुर श्रेष्ठको सम्झनामा गुम्बा डाँडामा अर्धकदको शालिक निर्माण गरिएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र हेटौंडा–१८ हर्नामाडिमा निर्माण गरिएको भक्तबहादुरको शालिक मंगलबार अनावरण गरिएको हो । बामपन्थी नेता श्रेष्ठको शालिक एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष अनिलकुमार बानियाँले अनावरण गरेका हुन् । पुस २७ गते पर्ने श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा शालिक अनावरण गरिएको वडा अध्यक्ष बानियाँले बताए ।
वि.सं. १९९० असोज ३ गते मकवानपुरको मकवानपुरगढीमा जन्मिएका श्रेष्ठको २०६८ पुस २७ गते निधन भएको होे । मकवानपुरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टको अग्रसरतामा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा श्रेष्ठको शालिक तयार पारिएको हो । गुम्बाडाँडास्थित श्यामप्रसाद शर्मा स्मृति पार्क परिसरमा श्रेष्ठको शालिक निर्माण गरिएको छ ।
शालिक अनावरण गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले राजनीतिक अभियानकै क्रममा भेट हुँदा श्रेष्ठले पढ्न उपदेश दिएको स्मरण गरे । गुम्बाडाँडाको विकासमा उपहानगरले सक्दो सहयोग गर्ने मेयर महतले प्रतिबद्धता व्यक्त गरे । शालिक निर्माणका अभियन्ता बिष्टले श्रेष्ठ राजनीतिक अगुवा मात्रै नभइ सामजिक अभियान्तासमेत रहेको बताए । उनले श्रेष्ठको सम्मान स्वरुप शालिक निर्माण गरिएको धारणा राखे । दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्ध अग्रसर भएका थिए । अनावरण कार्यक्रममा श्रेष्ठका दुई छोरी, अफन्त र हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको पनि उपस्थिति रहेको थियो ।







